कात्तिक २९, २०७८ सोमबार

बाजुरा, कात्तिक २९ गते । बाजुराको मार्तडीदेखि कोल्टीसम्मको चल्ने सवारीसाधनले उपभोक्ताबाट चर्को भाडा असुल्न थालेपछि यातायात व्यवसायी र स्थानीयलाई सहज हुनेगरी नयाँ भाडा दर तोकिएको छ ।

कैलालीको अत्तरियादेखि बाजुराको मार्तडीसम्मको एक हजार तीन सय रुपियाँ भाडा तोकिएको छ भने मार्तडीदेखि कोल्टीको एक हजार भाडा तिर्नु पर्दा यात्रुलाई निकै मार खेप्नु परेको थियो ।

सडकको सम्पूर्ण स्वामित्व यातायातले लिएपछि साँफे मार्तडीअन्तर्गत पर्ने ५७ किलोमिटर सडकको पनि अहिले नयाँ भाडा दर कायम गरिएको छ । यसअघि जिपले ६ सय र बसले पाँच सय रुपियाँ भाडा लिने सो सडकमा अहिले ३५० रुपियाँ मात्र नयाँ भाडा दर कायम गरिएको छ ।

साँफे मार्तडी सडकको पनि यातायात व्यवस्था विभागकै परिपत्रअनुसार रुट परमित अनुमतिसँगै नयाँ भाडादर कायम गरिएको हो । यात्रुहरूले जिपमा होस् या बसमा, बाजुराको मार्तडीबाट अछामको साँफेसम्म यात्रा गर्दा ३५० रुपियाँ मात्र तिर्नुपर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीकाअनुसार जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण व्यवसायी सम्वद्ध संस्थाका प्रतिनिधिलाई बोलाएर भाडादर बारे जानकारी गराई नयाँ कार्यान्वन गर्न निर्देशन दिएको हो । नयाँ भाडादरअनुसार यात्रुहरु नबोकेमा र भाडा पुरानै लिएको पाइएमा प्रशासनले कानुनअनुसार कारबाही गर्ने उनले बताए ।