भदौ १७, २०८३ बुधबार

काठमाडौँ, १७  भदौ: नेपालले आज असंलग्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गरेको छ । 

परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले सर्बियाको राजधानी बेलग्रेडमा आयोजित स्मारक उच्चस्तरीय समारोहलाई सम्बोधनका क्रममा विश्वले बढ्दो जटिलता र बहुआयामिक सङ्कट व्यहोरिरहेको मन्त्रालयले जनाएको छ ।

ढकालले पुनः बढ्दो द्वन्द्व र तनावका साथै ध्रुवीकरण र विखण्डनको अवस्था सामना गरिरहेको उल्लेख गर्दै नामलाई नवीकरण तथा पुनर्जीवित गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले हतियारको होड, आर्थिक असमानता तथा डिजिटल विभेदलगायत विश्वव्यापी चुनौतीको सम्बोधन गर्न नेपालले असंलग्न आन्दोलनलाई महत्त्वपूर्ण मञ्चका रूपमा अङ्गीकर गरेको छ, भन्नुभयो । 

ढकालले सदस्य राष्ट्रलाई ‘नाम’का सिद्धान्तमा एकजुट भई बहुपक्षीयतालाई सुदृढ गर्न तथा अन्तरराष्ट्रिय  कानुनी शासनलाई थप मजबुत बनाउन ठोस र समन्वित कदम चाल्न आह्वान गर्नुभयो ।

‘नाम’का सदस्य राष्ट्रहरूका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, परराष्ट्रमन्त्री तथा उच्च प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रममा आन्दोलनको इतिहास, समकालीन विश्व शासनमा नामको भूमिकाबारे छलफल भएको थियो । 

    बैठकमा सर्बिया गणतन्त्रका परराष्ट्रमन्त्री मार्को ज्युरिचले हालै नेपालमा आएको बाढीका कारण  नेपालले व्यहोर्नुपरेको दुःखमा नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको थियो । 

    यसैक्रममा ढकालले अंगोला गणतन्त्रका बाह्य मामिला सम्बन्धमन्त्री टेटे एन्टोनियो,  अरब अधिराज्यका उपविदेश मन्त्री इ वालीद ए.एम. एल्खेरेजीसँग भेटवार्ता गरी द्विपक्षीय तथा बहुपक्षीय सहयोगका विषयमा छलफल गर्नुभएको थियो ।

त्यसैगरी, सर्बिया गणतन्त्रका कृषि, वन तथा जल व्यवस्थापनमन्त्रीका अन्तरराष्ट्रिय मामिला सल्लाहकार आन्द्रेज सिभियानोभिचसँग पनि भेटवार्ता गरी कृषि तथा वनको क्षेत्रमा नेपाल–सर्बिया सहयोगलाई थप सुदृढ गर्ने विषयमा विचार आदानप्रदान गर्नुभएको थियो ।