काठमाडौँ, १७ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजना कार्यरत कर्मचारीका परिवारका सदस्यालाइ भेट गर्नुभएको छ । आज मन्त्रालयमा परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्दमा व्यक्त गर्न नसकिने बताउनुभयो ।
“हरेक जीवन अमूल्य छ । एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन र राखेको पनि छैन”, मन्त्री श्रेष्ठले भन्नुभयो । खोजी तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र, दक्ष जनशक्ति, प्रविधि र उपलब्ध स्रोतसाधन परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
उद्धार प्रयासमा प्रविधि, दक्ष जनशक्ति र स्रोतको कुनै कमी हुन नदिइएको स्पष्ट पार्दै मन्त्री श्रेष्ठले एक सातासम्म पनि अपेक्षित परिणाम प्राप्त हुन नसक्दा चिन्ता बढ्दै गएको बताउनुभयो । सरकारले कठिन परिस्थितिमा पनि खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै उहाँले परिवारजनलाई धैर्य नगुमाउन आग्रह गर्नुभयो ।
“हामी अन्तिम सम्भावनासम्म प्रयास गरिरहने छौँ । अझै आशा मार्ने बेला भएको छैन । प्रयास र प्रार्थना सँगसँगै गरौँ, आशा जीवित राखौँ”, उहाँले भन्नुभयो । मन्त्री श्रेष्ठले सरकार आफ्ना नागरिक तथा राष्ट्रसेवकका परिवारसँगै रहेको उल्लेख गर्दै कठिन घडीमा परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले सरकारका विभिन्न निकायबीच समन्वय र सहकार्य गर्दै खोजी तथा उद्धारको काम अघि बढिरहेको जानकारी दिनुभयो । नागरिकको जीवन रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएकाले सोहीअनुसार उपलब्ध सबै उपायको प्रयोग भइरहेको उहाँले बताउनुभयो ।
त्यस्तै, चिलिमे जलविद्युत् कम्पनीका अध्यक्षसमेत रहनुभएका नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले हालसम्म भइरहेका खोजी तथा उद्धारका प्रयासबारे परिवारजनलाई जानकारी दिनुभयो । उद्धार तथा खोजीकार्यलाई प्रभावकारी बनाउन कम्पनीका तर्फबाट आवश्यक सबै प्रयास भइरहेको उहाँले बताउनुभयो ।
---