भदौ १७, २०८३ बुधबार

गण्डकी, १७ भदौः पत्रकारिताकामार्फत पोखरा र आसपासका पर्यटकीय गन्तव्यस्थलको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रिय समाचार समिति (रासस), बागमती प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेल पोखरा पर्यटन परिषद्द्वारा सम्मानित हुनुभएको छ । 
    
    पोखरामा आज आयोजित परिषद्को २६औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशनका अवसरमा उहाँलाई नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल र परिषद्का अध्यक्ष तारानाथ पहारीले कदरपत्रद्वारा सम्मानित गर्नुभएको हो । पौडेलले यसअघि पोखरालाई कार्यक्षेत्र बनाई लामो समय पत्रकारिता गर्नुभएको थियो । उहाँ परिषद्को प्रेस सल्लाहकारको जिम्मेवारीमासमेत रहनुभएको छ । 

    उक्त अवसरमा नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य पोखरेलले नयाँ पर्यटकीय गन्तव्यस्थलको पहिचान र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।  उहाँले पर्यटकीय राजधानी पोखरालाई काठमाडौँलगायत सहरसँग जोड्ने वैकल्पिक राजमार्ग निर्माण गर्नुपर्ने बताउनुभयो । बोर्ड सदस्य पोखरेलले पोखरालाई अन्तरराष्ट्रियस्तरको पर्यटन गन्तव्यका रुपमा विकास गर्न सबैपक्ष लाग्नुपर्ने उल्लेख गर्नुभयो । 

    परिषद्को सल्लाहकार परिषद्का संयोजक डम्बरबहादुर केसीले पोखरा आफैँमा पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा सबैको साथ र ऐक्यबद्धता चाहिने धारणा राख्नुभयो । परिषद्का अध्यक्ष पहारीले पर्यटन सम्बद्ध सङ्घसंस्थाको छाता संस्थाका रुपमा परिषद्ले पर्यटन प्रवद्र्धनका गतिविधिसँगै पर्यटन क्षेत्रको नीतिगत सुधारमा पहल गर्दै आएको बताउनुभयो ।