दीपक बोहरा
तुलसीपुर (दाङ), १८ भदौः ललितजङ्ग शाह व्यापारी हुन् । उहाँलाई दाङवासीहरु गाईका डाक्टर पनि भन्छन् । गाई नेपालको राष्ट्रिय जनावर हो ।
उहाँले बाटोघाटोमा बिरामी गाई देखे भने पहिले घरेलु उपचार गर्छन्, निको भएन भने पशुचिकित्सकलाई बोलाएर उपचार गर्छन् । निको भएपछि गाईपालक किसानलाई जिम्मा लगाउनु हुन्छ । बिरामी गाईलाई उपचार गरी निको पार्ने काम गरेकाले नै होला सायद उहाँलाई स्थानीयले गाईका डाक्टर भनेका ।
तुलसीपुर उपमहानगरपालिका–५ निवासी हुन् ललितजङ्ग शाह । उहाँ नौ वर्षदेखि बिरामी गाईको उपचारमा सक्रिय हुनुहुन्छ । गाई घरपालुवा गुनिलो जनावर हो । आजकाल गाईले दूध दिन छोडेपछि सडकमा छाडा छोड्ने गरिएको छ । हो, तिनै सडकमा छोडिएका बिरामी गाईको उपचारमा उहाँ सक्रिय हुनुहुन्छ । खुला सडकमा घाइते भएका गाईलाई उपचार गर्ने उहाँको पहिलो काम हो ।
घाइते गाईलाई सुरक्षित स्थानमा राख्ने, सफा पानी दिने, घाउ सफा गरिदिने, घाँस, पराल दिने, बिरामी गाईलाई मलम लगाइदिने, कपडाले बेरिदिने कामदेखेर म साह्रै प्रभावित छु भन्नुहुन्छ, स्थानीय चक्रकाजी श्रेष्ठ ।
नेपालका सहरी तथा ग्रामीण क्षेत्रमा छाडा चौपाय (विशेषगरी गाईगोरु छोड्ने चलन एउटा ठूलो सामाजिक समस्याका रुपमा देखापरेको छ । गाई लैनो हुदाँको अवस्थामा दूध खाने र थाकेपछि छाडा छोडिदिने प्रवृत्तिले सडकमा गाई बिरामी हुने गरेका हुन् ।
गाईपालक किसानका लागि थारो गाई घाँडो बन्ने गरेको छ । गाई जानजान मार्न पाइँदैन, कानुन लाग्छ । ठाउँठाउँमा गौशाला सञ्चालनमा छन् । बूढा तथा थारो गाईपालन गर्न ।
छाडा छोडिएका घाइते तथा रोगी गाईले सडकमा फोहर खानेकुरा खान्छन्, प्लाष्टिक तथा प्लाष्टिकजन्य खानाबाट बिरामी भएका गाईको उपचारमा संलग्न शाहको रचनात्मक कामबाट दाङवासी प्रेरित छन् भन्नुहुन्छ, स्थानीय हरेराम चौधरी ।
नौ वर्षअघि शाहले तुलसीपुरको राप्ती सडकमा खानेकुरा खान नपाएको गाई र त्यसको बाच्छालाई घरमा ल्याउनुभयो र उपचार गर्नुभयो । तीन÷चार महिनासम्म उपचार र रेखदेख गरेपछि गाई तन्दुरुस्त भयो, अनि गाईपालन गर्ने व्यक्तिलाई दिनुभयो ।
गएको वर्ष साउनमा उहाँले दाङको बिजौरीबाट ठूलो चोट लागेर मरणासन्न अवस्थामा पुगेको एउटा गाईको बाच्छो उद्धार गर्नुभयो । तीन महिनासम्म लगातार उपचार गरेर निको बनाएपछि उहाँले फूलबारीमा रहेको पशुपति गौशालालाई त्यो बाच्छो हस्तान्तरण गर्नुभयो ।
चालु वर्षको वैशाखमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा गम्भीर घाइते गाईलाई उद्धार गरेर ल्याउनुभयो । उहाँले १३ दिनसम्म रातदिन बचाउने अथक प्रयास गरे पनि अन्ततः उक्त गाईलाई बचाउन सक्नुभएन । गाई बचाउन नसकेकामा उहाँलाई खेद छ ।
केही दिनअघि मात्रै तुलसीपुरको लक्ष्मीनारायण मन्दिर नजिकै एउटा गाई मरणासन्न अवस्थामा लडिरहेको खबर पाएपछि त्यहाँ पुग्नुभयो । त्यहाँ पुग्दा गाईको शरीरमा ठूलो घाउ थियो ।
ललितले तत्कालै उद्धार सामग्रीसहित गाईलाई आफ्नो घरमा ल्याउनुभयो । सुरुका दुई÷तीन दिन गाईले केही खानसक्ने अवस्था थिएन । पशु चिकित्सकलाई घरमै बोलाएर उहाँले एन्टिबायोटिक र नसाको उपचार गराउनुभयो । पाँच हप्तापछि गाई निको भयो । उहाँ खुसीले दङ्ग पर्नुभयो ।
ललितले विगत नौ वर्षदेखि यसरी नै बेवारिसे अवस्थाका घाइते गाईहरुको उद्धार गरेर उपचार गर्दैै आउनुभएको छ । उहाँले मानिसलाई जस्तै जनावरलाई पनि दुखाई हुने भन्दै यसरी बेवारिसे र घाइते अवस्थाका गाईलाई उद्धार गरेर उपचार गर्ने गरेको बताउनुभयो ।
“पशुलाई पनि दुःख, त्यसमा पनि गाई राष्ट्रिय जनावर हो”, उहाँले भन्नुभयो, “यसलाई हामीले संरक्षण गर्नुपर्छ ।” उहाँले उद्धार गरेका पशुलाई आफ्नै घरमा ल्याएर औषधि उपचार गर्ने, खुवाउने र निको नभएसम्म आफैँसँग राख्ने गर्दै आउनुभएको छ ।”
गाईको उपचार खर्चिलो छ । ललितले आजसम्म लाखौँ रुपैयाँ खर्च भइसकेको बताउनुुहुन्छ । “पेट फुटेर गम्भीर घाइते भएको गाईको ‘अप्रेशन’ गर्दा मेरो रु ५५ हजार खर्च भएको थियो”, उहाँले भन्नुभयो, “दैनिक रूपमा खुवाउनुपर्ने महँगो दाना, पराल र औषधिमा पनि त्यत्तिकै खर्च हुन्छ ।”
त्यतिमात्रै होइन, कतिपय अवस्थामा उहाँ गाईका लागि घाँस काट्नुहन्छ । कहिलेकाहीँ उहाँका सहयोगीले घाँस उपहार दिने गर्छन् । “गाई बोल्न मात्र सक्दैनन््, धेरै कुरा बुझ्छन्”, उहाँले भन्नुभयो,“ मैले अलिकति आवाज मात्र दिएँ भने यिनीहरू टाउको उठाएर मलाई हेरिहाल्छन् ।” गाई गुनिलो जनावर हो । स्थानीय जातका गाईको दूध अति पोषिलो हुन्छ । उहाँ भन्नुहुन्छ, “केटाकेटी र बूढाबूढीका लागि स्थानीय जातका गाईको दूध अमृत बराबर हुन्छ ।”