काठमाडौँ, १८ भदौः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको जनाएको छ । प्राधिकरणले नेपाली सेनाको हवाई उद्धारमार्फत चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरिएको जानकारी दिएको छ ।
प्राधिरणका प्रवक्ता शान्ति महतले बाढी तथा विपद्का घटनामा घाइते भएका कुल पाँच हजार १३५ जनाको उपचार गरिएको जानकारी दिनुभयो । उहाँले नेपाली सेनाबाट तीन हजार २०६, सशस्त्र प्रहरी बलबाट एक हजार ६२८ र विभिन्न अस्पतालमा ३०१ जनाको उपचार गरिएको जानकारी दिनुभयो ।
प्राधिरकणका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ९४८ जना ‘होल्डिङ सेन्टर’मा छन् । “नुवाकोटमा दुई हजार ९८१, धादिङमा २६०, रसुवामा ३२० र काठमाडौँमा ३८७ जना रहेका छन्,” प्रवक्ता महतले भन्नुभयो, “खोज, उद्धार तथा राहतका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना नौ हजार २८७, नेपाल प्रहरी सात हजार ९१२ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।”
उहाँका अनुसार प्रभावित क्षेत्रमा काठमाडौँबाट ४५ ट्रक, ३७ बोलेरो, नौ हेलिकप्टर उडान र १४ मिनीट्रकमार्फत राहत सामग्री पठाइएको तथा सशस्त्र प्रहरी बलले नुवाकोट र रसुवामा १३० हवाई उडानमार्फत राहत सामग्री ढुवानी गरेको छ ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा हाल ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ ।
नेपाल टेलिकमका क्षति पुगेका ११० वटै टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ टावर सञ्चालनमा आइसकेको प्राधिरकणले जनाएको छ ।