कात्तिक ३०, २०७८ मंगलबार

युरो च्याम्पियन इटाली विश्वकप २०२२ मा सोझै छनोट हुन असफल भएको छ। जारी युरोपियन छनोटमा इटाली रहेको समूह 'सी'बाट स्विटजरल्यान्ड छनोट भएको छ। जित्नै पर्ने खेलमा इटाली नर्दन आयरल्यान्डसँग बराबरीमा रोकिँदा स्विटजल्यान्डले भने बुल्गेरियालाई पराजित गर्दै छनोटमा स्थान बनाएको हो।

विश्वकपमा सोझै छनोट हुन जित निकाल्नु पर्ने दबाबमा रहेको इटाली नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको हो। अधिकांश समय खेल नियन्त्रणका बाबजुत इटाली गोल गर्न भने असफल रह्यो।

स्विटजल्यान्डले भने बुल्गेरियालाई ४-० ले पराजित गर्दै इटालीलाई पछि पार्दै छनोट हुन सफल भएको छ। अब इटालीले विश्वकपमा स्थान बनाउन मार्चमा हुने प्ले अफ खेल्नुपर्ने छ।

बराबरीमा रोकिएको इटालीले ८ खेलबाट १६ अंक जोड्यो। शीर्ष स्थानको स्वीट्जरल्यान्डले १८ अंक जोडेको छ। नर्दन आयरल्यान्ड ९ अंक जोडेर तेस्रो स्थानमा रहँदा बुल्गेरिया आठ अंक जोडेर चौथो स्थानमा रह्यो। लिथुआनिया ३ अंक जोडेर पुछारमा रह्यो।