काठमाडाैँ, १८ भदौः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तीव्र गराउन सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा सांसदहरूले विपद्को व्यवस्थापनमा एकताबद्ध सहकार्य र समन्वय गर्नुपर्ने जोड दिनुभयो ।
सांसद जगतप्रसाद जोशीले भदौ १० गतेदेखि देश शोकमा डुबेको बताउँदै विश्व समुदायले यतिबेला नेपालतर्फ प्रकट गरेको सद्भावप्रति आभार व्यक्त गर्नुभयो । सांसद चन्द्रमोहन यादवले रसुवाको भोटेकोशीमा आएको बाढीले विपद् व्यवस्थापनबारे हामी सचेत हुनुपर्ने चेतावनी दिएको बताउनुभयो ।
सांसद जगदीश खरेल (दोलखा) ले बेपत्ता भएका नागरिकसँग आफूले भेटेको बताउँदै उहाँहरूको भावविह्ल अवस्थाबारे सदनमा जानकारी दिनुभयो । सांसद जनकराज गिरिले बेपत्ता भएका नागरिकको खोजी कार्य तीव्र गराउन सरकारसँग आग्रह गर्नुभयो । सांसद जनकसिंह धामीले उद्धार र राहतमा खटिनुभएका सबैप्रति धन्यवाद दिँदै कञ्चनपुरका चार जना अझै बेपत्ता भएकाले ओजीका लागि आग्रह गर्नुभयो ।
सांसद जोगकुमार बरबरिया यादवले यस कठिन मोडमा सबै मिलेर विपद्को सामना गर्नुपर्नेमा जोड दिनुभयो । सांसद टुकाभद्रा हमालले रसुवामा आएको बाढीले सुरुभित्र मानिस फसेको भए पनि बेलैमा उपचार नभएको बताउँदै सरकारलाई यसप्रति ध्यानाकर्षण गराउनुभयो ।
सांसद ठाकुरसिंह थारूले बर्दियाका इन्जिनियर, सुरक्षाकर्मी र सर्वसाधारण गरी ७५ जना व्यक्ति सम्पर्कविहीन भएका बताउँदै उहाँहरूको खोजी र उद्धार गर्न सरकारसमक्ष माग गर्नुभएको छ । सांसद डा ताराप्रसाद जोशीले बाढीबाट आफन्त मात्रै होइन त्यहाँको सभ्यता पनि गुमाएको बताउँदै सरकारले सुरुङभित्र अझै उद्धार प्रक्रिया तीव्र पार्नुपर्ने बताउनुभयो ।
सांसद तौफिकअहमद खानले बाढीपछि रुपेन्देही क्षेत्र नम्बर ५ का बेपत्ता भएका व्यक्तिको नामसहितको विवरण सदनलाई जानकारी गराउनुभयो । सांसद दीपकराज बोहराले हराएका व्यक्तिको खोजीमा सरकारले यथाशीघ्र थप पहल गर्नुपर्ने माग राख्नुभयो । सांसद नरेन्द्रकुमार केरुङले रसुवामा आएको बाढीले कतिपय पुल तथा सडक बगाउँदा आवागमनमा समस्या भएको बताउनुभयो ।
सांसद नीतिमा भण्डारी (कार्की) ले प्रभावकारी रूपमा विपद् व्यवस्थापन गर्न आवश्यक पर्ने स्रोतसाधनको व्यवस्था गर्नुपर्नेमा माग गर्नुभयो । सांसद निराशा चौधरी डगौराले बाढीपछि कञ्चनपुरका बेपत्ता भएका नागरिकको बारेमा सदनलाई जानकारी दिनुभयो । सांसद नीता घतानीले राहत वितरण गर्दा एकद्वार प्रणाली अपनाउनु ठिक भए पनि तीनै तहका सरकारको समन्वय आवश्यक पर्ने धारणा राख्नुभयो ।
सांसद नीनुकमारी कर्णले भोटेकोशीको बाढीपछि मधेसका बेपत्ता युवाहरूका बारेमा सदनलाई जानकारी गराउनुभयो । सांसद पवित्रा विकले बेपत्ता भएका नागरिकको खोजी गर्न सरकारसमक्ष ध्यानार्कषण गराउनुभयो । सांसद पारशमणि गेलालले ‘बेपत्ताको खोजी कार्य केकसरी भइरहेको छ ?’ सरकारले जानकारी दिनुपर्ने माग राख्नुभयो ।
सांसद पार्वती विकले विपद्को समयमा सरकारले सहानुभूति होइन प्रभावकारी व्यवस्थापन गर्नु महत्वपूर्ण विषय भएको बताउनुभयो । उहाँले सबै घाइतेको सरकारी खर्चमा उपचार गर्ने र मृतकका परिवारलाई आर्थिक राहत उपलब्ध गराउन आग्रह गर्नुभयो ।
सांसद पुकार बमले आर्थिक वर्षको बजेट खर्चबारे पारदर्शिताका लागि ‘डिजिटल’ प्रणालीमा व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । सांसद पुष्पराज कँडेलले सुरुङभित्र फसेकाहरूको छिटोभन्दा छिटो उद्धार गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । सांसद पुष्पाकुमारी चौधरीले सप्तरी जिल्लाका ५१ मध्ये १७ जना सम्पर्कमा आउनुभएकाबारे सदनलाई जानकारी दिनुभयो ।
सांसद पुनमकुमारी अग्रवालले जलवायु परिवर्तनको महँगो मूल्य नेपालले तिर्नुपरेको बताउँदै अन्तरराष्ट्रिय मञ्चमा यसबारेमा स्पष्ट रूपमा विषय उठान गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । सांसद पूर्णप्रसाद लिम्बूले सुनसरीको बराह क्षेत्रमा अविरल वर्षाका कारण प्रभावित जनजीवनको समस्या सामधान गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।
सांसद प्रदीप विष्टले रसुवा बाढीमा परी बेपत्ता भएका कीर्तिपुरका नागरिकका बारेमा जानकारी दिनुभयो । सांसद प्रभा कार्कीले विधि, प्रक्रिया र संसदीय प्रक्रियाको पालना गर्न आग्रह गर्नुभयो । सांसद प्रभा ढकालले बाढी प्रभावित क्षेत्रमा अस्थायी सिकाइ प्रणाली सञ्चालन गर्न अपिल गर्नुभयो ।
सांसद प्रमिला गिरी गच्छदारले भोटेकोशी सुरुङभित्र फसेका नागरिकको उद्धार गर्न आग्रह गर्नुभयो । सांसद प्रमिला कुलुजुले विपद्मा राष्ट्रिय एकतामा आबद्ध भई सहयोगमा जुट्नुपर्ने बताउनुभयो । सांसद प्रशान्त उप्रेतीले पृथ्वी राजमार्गसहित कैयौँ सडक अवरुद्ध भएकाले उपयोग्य सामग्री ढुवानी तथा यात्रामा समस्या निम्तिएकाले सहजीकरण गर्न आग्रह गर्नुभयो ।
सांसद प्रेमलाल चौधरीले मोरङ, इलामलगायत जिल्लाका नागरिक बेपत्ता भएको बताउँदै सरकारले उद्धारमा सघाउन अपिल गर्नुभयो । सांसद बदनकुमार भण्डारीले काभ्रेपलाञ्चोकबाट हराएका व्यक्तिको नाम उल्लेख गर्दै सरकारले गरिरहको उद्धार प्रक्रिया थप तीव्र बनाउनुपर्नेमा जोड दिनुभयो ।