भदौ १८, २०८३ बिहिबार

नारायणगढ (चितवन), १८ भदौ : त्रिशूली र नारायणी नदी किनारमा फेला परेका अज्ञात शवको पहिचानका लागि चितवनमा दुई दिनदेखि डीएनए परीक्षणका लागि नमूना सङ्कलन तीव्र पारिएको छ ।

आफन्तको खोजीमा चितवन आइपुगेका र शव पहिचान गर्न नसकेका परिवारलाई लक्षित गरी मनोसामाजिक परामर्श सेवालाई समेत विशेष प्राथमिकताका साथ सञ्चालन गरिएको छ । 
भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा शव पहिचान केन्द्रसँगै डिएनए परीक्षणका लागि नमूना सङ्कलन थालिएको हो । 

बुधबारसम्म यहाँ ३३ आफन्तकोे डिएनए परीक्षणका लागि नमूना सङ्कलन भएको छ । बुधबारसम्म ३५५ शव फेला परेका छन् । हराएका आफन्तको खोजीमा बाहिरी जिल्लाबाट समेत ठूलो सङ्ख्यामा आफन्त चितवन आएका छन् । आफन्तको खोजी गर्दै आएका उनीहरू मानसिक रुप निकै विक्षिप्त अवस्थामा देखिने गरेका छन् ।

उहाँहरूलाई सम्हाल्न र प्रक्रियागत सहजता दिलाउन नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी तथा मनोपरामर्शदाताको टोली निरन्तर खटिएको छ । डिएनए परीक्षण र आफन्तसँगको समन्वयबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक अस्मिता गोदारले माथिबाट प्राप्त परिपत्रअनुसार दुई दिन अघिदेखि मेडिकल टोलीको सहयोगमा डिएनए नमूना सङ्कलन भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “माथिबाट प्राप्त परिपत्रअनुसार दुई दिन अघिदेखि मेडिकल टिमको सहयोगमा डिएनए नमूना सङ्कलन गरिरहेका छौँ ।” हराएका व्यक्तिका बुबा–आमा वा छोरा–छोरीबाट रगतको नमूना सङ्कलन गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइनेछ । नमूना सङ्कलन गरी तापक्रम मिलाएर प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ । उहाँले थप्नुभयो, “डिएनएका लागि बाबुआमा र छोराछोरीले नमूना दिन सक्नुहुन्छ । यदि बाबुआमा हराउनुभएको छ भने छोराछोरी र छोराछोरी हराएको अवस्थामा बाबुआमाले नमूना दिन सक्नुहुन्छ ।”

डिएनए परीक्षणका लागि नागरिकता वा परिचयपत्र, निवेदन र दुईप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने तथा अन्य निवेदन र कागजी प्रक्रिया यतैबाट सहजीकरण गरिने उहाँले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलले राहत तथा शव व्यवस्थापनसँगै पीडितलाई मानसिक ढाडस दिन र बेपत्ता व्यक्तिको हुलिया सङ्कलनमा रेडक्रस सक्रिय रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हामीले डेड बडी ब्याग, पिपिई, मास्क, स्यानिटाइजरलगायतका सामग्री हस्तान्तरण गर्नुका साथै घरसम्म पुग्न नसकेका परिवारलाई शववाहन र आर्थिक सहयोग गरी घर पठाएका छौँ ।”

    यहाँ रेडक्रसका स्वयंसेवकले पीडितलाई मनोसामाजिक परामर्श दिने र बेपत्ता परिवारको हुलिया विवरण भर्ने काम गरिरहेको उहाँले बताउनुभयो । मानसिक रूपमा टुटेका परिवारलाई सुन्ने, सम्झाउने र सान्त्वना दिने काममा स्वयंसेवक निरन्तर खटिएका उहाँको भनाइ छ । राष्ट्रिय मनोविमर्श महासङ्ककी चितवन जिल्ला सदस्य सावित्री पौडेलले टाढाटाढाबाट आफन्तको खोजीमा आएका व्यक्ति यहाँ आएपछि निकै मनोसामाजिक असरमा पर्ने गरेको बताउनुभयो ।

 निम्न वर्गीय तथा मजदुर परिवारका सदस्यको अवस्था झनै करुणादायी रहेको उहाँले बताउनुभयो । परामर्श सेवाको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “यहाँ आउने धेरैजसो हाइड्रोपावर र भन्सारमा काम गर्ने मजदुरका परिवार हुनुहुन्छ । 

आफ्ना प्रियजन गुमाउँदा विक्षिप्त हुनुहुन्छ की हामीले उहाँहरूका कुरा सुन्ने, मनका भावना व्यक्त गर्न दिने र मनोसामाजिक परामर्श दिने काम गरिरहेका छौँ ।” उहाँका अनुसार पीडितलाई पानी, खाजा, अटो भाडा तथा निःशुल्क इन्टरनेट र सञ्चारको व्यवस्थासमेत मिलाइएका छौँ ।

उहाँले भन्नुभयो, “उहाँहरू निकै दुःखमा यहाँ आउनुहुन्छ । उहाँहरूको कुरा हामी सुन्छौँ । यहाँको अवस्था हेरेपछि उहाँहरू अब कहाँ जान चाहनुहुन्छ, त्यहाँ पनि समन्वय गरी पठाउने गरेका छौँ ।”
 
विपत्तिको यस दुःखद् घडीमा जिल्लामा स्थानीय प्रशासन, प्रहरी, रेडक्रस, मनोपरामर्शदाता, अटो चालक, होटल व्यवसायी तथा स्थानीय सङ्घसंस्थाको एकीकृत प्रयासमा पीडितलाई निःशुल्क खाना, बस्ने व्यवस्था, कानुनी सहजीकरण तथा मुख्य रूपमा मानसिक ढाडस अर्थात् मनोसामाजिक परामर्श दिने काम भइरहेको छ ।