भदौ १८, २०८३ बिहिबार

काठमाडौँ, १८ भदौः नेपाल रेडक्रस सोसाइटीले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा मनोपरामर्श सेवा सञ्चालन गरेको छ । सो कार्यका लागि सोसाइटीले त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभाग र परामर्श मनोविज्ञान कार्यक्रमसँगको सहकार्यमा १२ स्वयंसेवक परिचालन गरेको छ । 

    बाढी प्रभावित क्षेत्रका परिवार, समुदाय, विद्यालय र विभिन्न होल्डिङ सेन्टरमा रहेका नागरिकलाई मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग प्रदान गर्ने उद्देश्यले स्वयंसेवक परिचालन गरिएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारीले जानकारी दिनुभयो ।  सोसाइटीबाट परिचालित हुने स्वयंसेवकमार्फत प्रभावित व्यक्ति तथा परिवारको खाना, आवास, सुरक्षा लगायतका सेवा आवश्यकता भएमा उनीहरुलाई सम्बन्धित निकायको सहयोग प्रणालीमा जोड्न पैरवी गरिने उहाँले बताउनुभयो । 

    बाढी प्रभावित क्षेत्रमा परिचालित स्वयंसेवकलाई प्रभावितका कुरा सुन्न र आवश्यक्ताका कुरा सम्बन्धित निकायमा पु¥याउन सहयोग गर्न सुझाव दिएको सोसाइटीका महामन्त्री ऋषिरमण खनालले बताउनुभयो । “परिचालित स्वयंसेवकले प्रभावित व्यक्तिको घर घरमा पुगेर मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगका गतिविधि सञ्चालन गर्नेछन् । उनीहरुले आवश्यकताका आधारमा परामर्श सेवा, मनोसामाजिक सहयोग र थप विशेषज्ञ सेवा आवश्यक भएकोबारे जानकारी लिनुका साथै सम्बन्धित निकायलाई सम्पर्क गराउने कार्य गर्ने छन्”, उहाँले भन्नुभयो । 

    नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित क्षेत्रमा रेडक्रसका स्थानीय स्वयंसेवक परिचालन गरी मनोसामाजिक सहयोगका गतिविधि निरन्तर रुपमा सञ्चालन गरिरहेको छ । आवश्यकताका आधारमा यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने सोसाइटीले जनाएको छ । सोसाइटीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव व्यवस्थापन, पारिवारीक सम्पर्क पुर्नस्थापना, राहत वितरणलगायतका कामहरु गर्दै आएको छ ।