महेश सिंह/सिरहा/लहान/ ३० कार्तिक - सिरहाको लहान नगरपालिका वडा नम्बर १५ बानोस्थित सङ्गिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा सञ्चालित प्रथम गोल्डकपको फाइनल खेल सम्पन्न भएको छ ।
पहिलो दिनको उद्घाटन खेलमा सिन्धुलीको दुधौली एकता फुटबल क्लबले लहान फुटबल क्लबलाई २–० अन्तरले पराजित गरेको छ । फाइनल खेलमा प्रथम हुनेलाई मेडलसहित ५० हजार रुपैयाँ र दोस्रो हुनेलाई मेडलसहित ३० हजार रुपैयाँ पुरस्कार दिइएको बानो फुटबल क्लबका अध्यक्ष आनन्द चौधरीले जानकारी दिए ।
फाइनल खेलमा बानो फुटबल क्लब बानो १ - ० ले विजयी भएको छ। बानो फुटबल क्लब बानो र गोलबजार स्पोर्ट्स क्लब गोलबजारबीच अन्तिम प्रतिस्पर्धा भएको हो ।
खेल समापनपछि समाजसेवी महेश चौधरी र पूर्वमन्त्री पदमनारायण चौधरीले प्रथम र दोस्रो हुने टिमलाई पुरस्कार प्रदान गरेका थिए।
खेलको उद्घाटन नेपाली कांग्रेसका पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य पदमनारायण चौधरीले गरेका थिए ।
समाजसेवी कर्माचार्यको कोरोनाकालमा गरिब विपन्न बस्तीमा राहत वितरण गर्नेक्रममा कोरोना सङक्रमण भई मृत्यु भएको थियो। उनको समाजसेवाको सपनाअनुसार मृत्यु भएको दिन हरेक महिना २२ गते प्रतिष्ठानमार्फत समाजसेवा कार्यलाई अगाडि बढाएको प्रतिष्ठानका अध्यक्ष महेश चौधरीले बताए ।
श्रीमती सङ्गीता कर्माचार्यको सम्झनामा सङ्गीता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा खेलकुद प्रतियोगिताको आयोजना गरेको समाजसेवी महेश चौधरीले बताए ।
"२०७८ जेठ २२ गते मेरी श्रीमती सङ्गीता कर्माचार्यको कोरोनाका कारण अकालमा मृत्यु भयो, उनको सम्झनास्वरूप प्रत्येक वर्ष कार्तिक महिनाको २२ गते समाजिक काम गर्ने प्रतिबद्धता गरेअनुरूप आज खेलकुद प्रतियोगिता सञ्चालन गरेको हुँ ।' उनले भने ।
खेलको सम्पूर्ण खर्च समाजसेवी महेश चौधरीले बेहोरेका छन् ।