काठमाडौँ, १९ भदौ : नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवस ‘मानवताका लागि एकताबद्ध होऔँ’ भन्ने नाराका साथ मनाइएको छ ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिव जगन चापागाईँले नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा उहाँले भन्नुभएको छ “६४ वर्षदेखि पीडित र विपन्न समुदायको साथमा उभिएको यस सस्थालाई नमन । विशेषगरी अहिलेको बाढी प्रतिकार्यमा दिनरात खटिरहेका हजारौँ स्वयंसेवकप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछु । तपाईहरुको निः स्वार्थ सेवा नै रेडक्रसको साँचो शक्ति हो । ”
आज यहाँ आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारी, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का नेपाल प्रमुख डेभिड फिसर र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) का नेपाल प्रमुख सन्देश श्रेष्ठबाट संयुक्त रूपमा झण्डोत्तोलन गरिएको थियो ।
सोही अवसरमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा भण्डारीले मानवताको सेवामा नेपाल रेडक्रस सोसाइटीले निर्वाह गर्दै आएको भूमिकालाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सबै रेडक्रसकर्मी, स्वयंसेवक तथा साझेदारबिचको सहकार्य, एकता र सामूहिक प्रतिबद्धतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“ नेपाल रेडक्रसको मानवीय अभियानलाई सफल र प्रभावकारी बनाउन निस्वार्थ भावनाका साथ खटिने स्वयंसेवक नै रेडक्रसका वास्तविक आधारस्तम्भ र अभियानका प्रमुख शक्ति हुन् । विपद् तथा मानवीय सङ्कटका बेला समुदायको आवश्यकता पहिचान गरी समयमै प्रभावकारी सहायता पु¥याउन तथा बदलिँदो मानवीय आवश्यकता र चुनौतीअनुसार रेडक्रसका सेवा तथा अभियानलाई थप प्रभावकारी, समावेशी र परिणाममुखी बनाउँदै लैजानुपर्छ । ”
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले मानवताको सेवा र मानवीय मर्यादाको संरक्षण गर्नु रेडक्रस अभियानको मूल भावना रहेको उल्लेख गर्दै स्थापना दिवसको अवसरमा सबै रेडक्रसकर्मी, स्वयंसेवक, साझेदार तथा शुभेच्छुकहरूलाई मानवताका लागि अझ एकताबद्ध भएर काम गर्न आह्वान गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले नेपाल रेडक्रसले विपद्का समयमा मात्र नभई समुदायस्तरमा निरन्तर मानवीय सेवा गरिरहेको र रेडक्रससँग आबद्ध स्वयंसेवक तथा युवाहरूले निःस्वार्थ सेवाभावका साथ समाजमा योगदान पु¥याउँदै मानवीय मूल्य र सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतारिरहेको बताउनुभयो ।
मानवीय सहायता पु¥याउन सामूहिक सहकार्य आवश्यक : आइएफआरसीका नेपाल प्रमुख फिसर
कार्यक्रममा आइएफआरसीका नेपाल प्रमुख डेभिड फिसरले नेपाल रेडक्रससँगको सहकार्यको प्रशंसा गर्दै विपद् प्रभावित समुदायका लागि स्वास्थ्य, स्वच्छता, पारिवारिक सम्पर्कको पुनस्र्थापना, मनोसामाजिक परामर्श तथा बालमैत्री स्थानलगायतका क्षेत्रमा भइरहेको प्रतिकार्यको सराहना गर्नुभयो । उहाँले मानवीय सङ्कटका समयमा प्रभावकारी सहायता पु¥याउन सामूहिक प्रयास र सहकार्य भइरहेको बताउनुभयो ।
सोही अवसरमा आइसीआरसीका नेपाल प्रमुख सन्देश श्रेष्ठले मानवीय मूल्य, सिद्धान्त र सेवाभावलाई प्राथमिकतामा राख्दै रसुवा बाढी प्रतिकार्यमा पारिवारिक पुनस्र्थापना, शव व्यवस्थापन तथा मानवीय मर्यादा र संरक्षणका क्षेत्रमा नेपाल रेडक्रसले गरेको कार्यको प्रशंसा गर्नुभयो । उहाँले प्रतिकार्यका क्रममा देखिएका चुनौतीबिच प्रभावित परिवारसम्म प्रभावकारी सहायता पु¥याउन नेपाल रेडक्रस र आइसीआरसीबिच निरन्तर सहकार्य भइरहेको बताउनुभयो ।
त्यस्तै युथ रेडक्रस सर्कल, पद्मकन्या क्याम्पसकी अध्यक्ष पूर्णीमा मैनालीले नेपाल रेडक्रससँग आबद्ध भएर मानवीय सेवामा जोडिन पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो । उहाँले नेपाल रेडक्रसले निःस्वार्थ सेवा गर्न सिकाउनुका साथै ‘समाजबाट म के पाउँछु?’ भन्दा ‘समाजलाई म के दिन सक्छु?’ भन्ने भावना जागृत गराएको र यसले युवामा मानवीय भावना, सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना अझ बलियो बनाउन सहयोग गरेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी तथा सदस्यहरू र कर्मचारीहरू, स्वयंसेवकहरू, आइएफआरसीका प्रतिनिधि तथा कर्मचारीहरू, आइसीआरसीका प्रतिनिधि, साझेदार र्राष्ट्रिय सोसाइटीहरूका प्रमुख तथा प्रतिनिधि र कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो ।