काठमाडौँ, २० भदौः धर्म, संस्कृति, अध्यात्म, पुरातत्व, इतिहास, भूगोललगायत नेपाली मौलिकतालाई प्रवर्द्धन गर्ने विषयमा कलम चलाउने नेपाली पत्रकारलाई पुरस्कृत गर्नेगरी धार्मिक, सांस्कृतिक पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना शुभारम्भ गरिएको छ ।
धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) नेतृत्वमा पुरस्कार अक्षयकोष स्थापना शुभारम्भ गरिएको हो । गोकर्णेश्वर नगरपालिका–५ निवासी कोमलप्रसाद लामिछानेले बीज स्रोतका रुपमा रु ५० हजार दिएपछि पुरस्कार कोष शुभारम्भ गरिएको हो ।
पुरस्कार कोष शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले संस्कृति बचाउन संस्कार महत्त्वपूर्ण विषय भएकाले त्यसको संरक्षणका पक्षमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन र प्रेरणा दिन पुरस्कार कोषले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
वैदिक सनातन धर्म, संस्कृतिको रक्षा गरिनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले समाजले धर्मलाई अङ्गालेपछि नै यसको रक्षा हुने बताउनुभयो । पूर्वगृह राज्यमन्त्री एवं नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले धर्म, संस्कृति लोप हुँदै गएको अवस्थामा यस विधामा कलम चलाउने पत्रकारका लागि पुरस्कारको व्यवस्था हुनु स्वागतयोग्य कदम भएको धारणा व्यक्त गर्नुभयो ।
पुरस्कार कोषका लागि बीज स्रोत उपलब्ध गराउनुहुने लामिछानेले पत्रकारितामा धर्म, संस्कृतिको विधापछि परेको देखेपछि सुरुमा रु ५० हजार प्रदान गरी आउँदा दिनमा रकम थप गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले २०८४ साल पौष शुक्ल पूर्णिमादेखि हरेक वर्ष धार्मिक तथा सांस्कृतिक विधामा कलम चलाउने पत्रकारलाई पत्रकारिता पुरस्कार दिने जानकारी दिनुभयो । नेपाली आमसञ्चार माध्यमका मूलधारमा रही धर्म, संस्कृति, अध्यात्म, पुरातत्व, इतिहासलगायत नेपाली मौलिकतालाई प्रवर्द्धन गर्ने गरी पत्रकारिता गरिरहेका पत्रकार सङ्गठित भई विसं २०८१ पुस २९ गते पौष शुक्ल पूर्णिमाका दिन धार्मिक, सांंस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) स्थापना भएको थियो ।