भदौ २१, २०८३ आइतबार

काठमाडौँ, २१ भदौः एसिसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताअन्तर्गत समूह ‘ए’को खेलमा साउदी अरेबियाले नेपाललाई १९१ रनको लक्ष्य दिएको छ । शनिबार मलेसियाको क्लालाम्पुरस्थित वायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भयो ।

    उसका लागि ओपनिङ ब्याटर अब्दुल वाहिदले ८९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७७ रनको पारि खेले । यस्तै, मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन जोडे । 

    नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछानेले १० ओभरमा दुई मेडनसहित १९ रन दिएर सर्वाधिक ३ विकेट लिए । यस्तै, दीपेन्द्र सिंह ऐरीले ९.२ ओभरमा ४३ रन दिएर ३ विकेट नै हात पारे । 

    ललितनारायण राजवंशीले २ तथा गुलशनकुमार झा र शेर मल्लले १–१ विकेट लिए । नेपाली टोली आजको खेलमा जित दर्ता गरेर सेमिफाइनल यात्रा सुरक्षित गर्न चाहन्छ ।

    नेपालले पहिलो खेलमा बहराइनविरुद्ध सात विकेट र दोस्रो खेलमा आयोजक मलेसियाविरुद्ध छ विकेटको जित निकालेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मङ्गलबार हङकङविरुद्ध खेल्ने तालिका छ ।