काठमाडौँ, २१ भदौः रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा परेर घाइते भएकामध्ये २१ जनाको महारजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालका प्रवक्ता, डा गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये २१ जनाको उपचार भइरहेको जानकारी दिनुभयो । उक्त अस्पतालबाट हाल उपचार गरेर ५५ जना घर फर्किएका छन् ।
चार जना अस्पतालमा आएर अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डा सेढाईंले बताउनुभयो । उक्त अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन् ।