भदौ २२, २०८३ सोमबार

नुवाकोट २२ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । 

    उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनःस्थापना भइरहेका कार्यको जानकारी लिनुभयो ।
 
    सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यले भोटेकोशी बाढीले जिल्लामा पुर्‍याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गर्नुभयो ।
 
    त्यसक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनस्र्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे राष्ट्रपति पौडेललाई अवगत गराउनुभयो । 

    राष्ट्रपति पौडेलले विदुर नगरपालिका–२ स्थित कभर्ड हलस्थित होल्डिङ सेन्टरको अवलोकन गरी त्यहाँ रहनुभएका रसुवा र नुवाकोटका बाढी प्रभावितसँग अन्तरक्रिया गर्नुभयो ।
 
    अन्तरक्रियामा बाढी प्रभावित नागरिकले भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीले पुर्‍याएको धनजनको क्षतिबारे जानकारी गराउनुभएको थियो ।

    उहाँहरुले खोज, उद्धार र राहत एवं पुनःस्थापनाका लागि सरकार र सहयोगदातासँग अझ तदारुकताको माग गर्नुभएको थियो । 
---