भदौ २३, २०८३ मंगलबार

बर्लिन, २३ भदौ :  जर्मनीको साक्सोनी–आनहाल्ट राज्यमा अति–दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले ठूलो चुनावी सफलता हासिल गरेपछि चान्सलर फ्रेडरिक मर्जमाथि दबाब बढेको छ । आफ्नो पार्टीको परिणामलाई गम्भीर धक्का बताउनुभएका मर्जले भने देशको अर्थतन्त्र सुधारका लागि आवश्यक कदमबाट पछि नहट्ने स्पष्ट पार्नुभएको छ ।

    आइतबारको निर्वाचनमा एएफडी बहुमतका लागि आवश्यक सङ्ख्याभन्दा तीन सिट मात्र पछाडि रहँदै सबैभन्दा ठूलो दल बनेको छ । यो परिणामले नाजी शासनपछि पहिलोपटक अति–दक्षिणपन्थी दललाई जर्मनीको कुनै राज्य सरकारको नेतृत्व गर्ने सम्भावनानजिक पु¥याएको छ । एएफडीको राज्य शाखालाई घरेलु गुप्तचर निकायले दक्षिणपन्थी चरमपन्थी समूहका रूपमा वर्गीकरण गरेको छ ।

    मर्जले आफ्नो क्रिश्चियन डेमोक्रेटिक युनियन (सिडियु) को परिणामलाई ‘दशकौँयताकै सबैभन्दा गम्भीर चुनावी हार’ भन्दै आफूलाई ‘गहिरो आघात’ पुगेको बताउनुभयो । तर उहाँले ‘त्याग्नु विकल्प नभएको’ स्पष्ट गर्दै सुधारको बाटोमा अघि बढिरहने प्रतिबद्धता दोहो¥याउनुभयो ।

    सरकारप्रतिको असन्तुष्टि, सुस्त अर्थतन्त्र र गठबन्धनभित्रको विवादका बीच एएफडीको समर्थन बढेको हो । मर्जले पेन्सन प्रणालीलगायत क्षेत्रमा आधारभूत सुधार आवश्यक रहेको बताउँदै ती कदम देशको भविष्य र भावी पुस्ताका अवसरसँग जोडिएको उल्लेख गर्नुभयो ।

    युक्रेनमाथि रुसको निरन्तर आक्रमण र नेटो राष्ट्रमा भएका भनिएका तोडफोडका घटनाबीच मर्जले जर्मनी आफ्नो लोकतान्त्रिक मूल्य र संविधानप्रति अडिग रहने बताउनुभएको छ । उहाँले रुसविरुद्ध युक्रेनलाई दिइँदै आएको समर्थनमा पनि परिवर्तन नहुने स्पष्ट पार्नुभयो ।

    जर्मनीका प्रमुख राजनीतिक दलहरूले एएफडीसँग सहकार्य नगर्ने ‘फायरवाल’ नीति अपनाउँदै आएका छन् । तर साक्सोनी–आनहाल्टमा एएफडीका मुख्यमन्त्रीका उम्मेदवार उलरिच सिग्मन्डले सरकार गठनका लागि स्पष्ट जनादेश प्राप्त भएको दाबी गर्नुभएको छ । उहाँले अन्य दलका समूह तथा स्वतन्त्र सांसदसँग सम्पर्क गरी स्थिर बहुमत बनाउने बताउनुभएको छ ।

    एएफडीले रुसप्रति नरम धारणा राख्ने वामपन्थी बिएसडब्लुसँग सहकार्यको सम्भावना खोज्न सक्छ । बिएसडब्लुले पाँच सिट जितेको छ र एएफडीविरुद्धको ‘फायरवाल’ को आलोचना गर्दै आएको छ । अन्य दलका सांसद एएफडीमा प्रवेश गरेमा पनि सरकार गठनका लागि आवश्यक सङ्ख्या पुग्न सक्ने सम्भावना छ ।

    एएफडीको सफलतापछि अर्बपति एलन मस्कसहित केही दक्षिणपन्थी नेताले बधाई दिएका छन् । रुसी राष्ट्रपति कार्यालयका दूत किरिल दिमित्रीभले परिणामलाई ‘ऐतिहासिक विजय’ बताउनुभएको छ । तर पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्क र फ्रान्सेली विदेशमन्त्री जिन–नोएल बारोटले एएफडीको उदयप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

    जर्मनीमा आगामी सेप्टेम्बर २० मा बर्लिन र मेक्लेनबर्ग–वेस्टर्न पोमेरेनियामा क्षेत्रीय निर्वाचन हुँदैछ । ती दुवै स्थानमा पनि एएफडी बलियो रहेको मानिन्छ । एएफडीको समर्थन नगर्ने ८६ वर्षीय म्याग्डेबर्गवासी होस्र्ट वाल्टर बोर्नरले निर्वाचन परिणामलाई ‘डरलाग्दो’ भन्दै ‘यो कहिल्यै हुनु हुँदैन थियो’ भन्नुभयो ।