भदौ २३, २०८३ मंगलबार

–वासुदेव पौडेल

बागमती, २३ भदौः हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पाइने चराको सचित्र वर्णन गरिएको पुस्तक बजारमा आएको छ । उपमहानगरपालिकाले प्रकाशन गरेको पुस्तकको लेखन तथा सम्पादन लामोसमयदेखि चरामा अध्ययन एवम् अनुसन्धान गरिहनुभएका दृष्टान्त विडारीले गर्नुभएको हो । 

विगत छ/सात वर्ष यताको तथ्याङ्कलाई पुस्तकमा समेटिएको बताउँदै लेखक तथा सम्पादक विडारीले हेटौँडा क्षेत्रमा पाइने ३६४ प्रजातिका चरालाई पुस्तकमा सचित्र प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

“मौषम अनुसार पाइने चरा, तिनीहरूको सङ्ख्यालगायतको विवरणलाई पुस्तकमा समेटिएको छ” उहाँले भन्नुभयो, “नेपालमा पाइने ९०४ प्रजातिका चरामध्ये ३६४ प्रजातिका चरा हेटौँडा क्षेत्रमा नै पाइएको छ ।” कुल १६० पृष्ठमा समेटिएको यो पुस्तक चराको अध्ययन, अनुसन्धानमा लाग्नेका लागि पनि बहुउपयोगी हुने विश्वास लिइएको उहाँले बताउनुभयो ।

पुस्तकमा लेखक/सम्पादक विडारीका साथै अम्सिस पन्त, निशान शर्मा, दशरथ श्रेष्ठ, प्रसन श्रेष्ठ र दीपक बुढाथोकीले खिच्नुभएका तस्बिर रहेका छन् । हेटौँडा जलसम्पदाले पनि सम्पन्न क्षेत्र हो । यहाँका राप्ती खोला, कर्रा खोलाका साथै बनविज्ञान क्याम्पसको जङ्गल, हटिया, हर्नामाडीका साथै मत्स्य विकास अनुसन्धान केन्द्रका भू–भाग पर्याप्त चरा पाइने गन्तव्यका रूपमा रहेको उहाँको भनाइ छ ।

अध्येताका अनुसार हेटौँडाबाट पूर्वतर्फ जाने मेनरोडसँगै रहेको बन विज्ञान अध्ययन संस्थानको जङ्गलभित्र मात्रै १५० भन्दा बढीको प्रजातिका चरा रहेका छन् । 

पर्याप्त जलाशयका कारण हेटौँडा र आसपासका क्षेत्र चराचुरुङ्गीको रोजाइमा पर्ने गरेको बताउँदै विडारीले पछिल्ला वर्षमा चरा अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको बताउनुभयो ।

चरा विज्ञ मनशान्त घिमिरेका अनुसार नेपालमा आउने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेका छन् । चरा पर्यटनको विकास गर्न सकेमा नेपालमा विदेशी पर्यटकको आगमनलाई बढाउन सकिने उहाँले बताउनुभयो ।

चराहरूको ‘ट्रान्जिट प्वाइन्ट’ हेटौँडा
अध्ययन अनुसार विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायतका स्थानबाट जाडोका समयमा आउने चरा हेटौँडा हुँदै चितवन, नारायणीका साथै भारतका विभिन्न भू–भागमा पुग्ने गरेका छन् ।  

“हेटौँडा हिउँदमा आउने पाहुना चरा आउँदा र जाँदा एक दुई दिन बिताउने ट्रान्जिट प्वाइन्ट पनि हो”, उहाँले भन्नुभयो, “चरा विशेषत खराब मौषम आदिका कारण यहाँ सामान्यतः एक/दुई दिन आराम गरेर चितवन, नारायणी हुँदै भारतसम्म पुग्ने गरेको पाइन्छ ।”

पाहुना चरा जाँदाजस्तै फर्कँदा पनि यहाँ एक/दुई दिन बिताएर साइबेरिया, मङ्गोलियातर्फ फर्कने गरेको उहाँले बताउनुभयो । जलाशयसँगै वरपर चुरे क्षेत्रको जङ्गल भएका कारण पनि यो क्षेत्र चराको रोजाइमा पर्ने गरेको छ । पछिल्ला समयमा सिमसार र आसपासका क्षेत्रमा विचरण तथा प्रजनन् गर्ने चराका प्रजाति वातावरण प्रदूषण एवम् सिमसारमा हुने गरेको अतिक्रमणका कारण सङ्कटमा परेको पाइन्छ । 

वरपरका चुरे पहाडसँगै आसपासका हरियाली युक्त डाँडाकाँडा, खोलानालाका साथै समथर भू–भागसमेतले हेटौँडा पहाडी तथा तराई दुबै क्षेत्रमा पाइने चराको गन्तव्य हो । जाडो याममा आउने हिउँदे चराका साथै यहाँका नदीनाला एवम् मत्य अनुसन्धान केन्द्रमा रहने जलपंछीका कारण यो चरा पर्यटनको राम्रै गन्तव्य बन्न सक्ने बिडारीको भनाइ छ ।

उहाँका अनुसार हेटौँडाको चौकी टोल पछि रहेको राप्ती नदी किनारा क्षेत्रमा देशका अन्य भूभागमा विरलै पाइने तिलहरी चरा समेत पाउने गरिएको छ । विगत केही वर्ष अघि वस्तीपुरदेखि चितवनसम्म नै यो चरा पाउने गरिएकोमा पछिल्ला वर्षमा क्रसर उद्योगका कारण ती क्षेत्रमा यी चरा पाउन छोडिएको उहाँले बताउनुभयो । 

तिलहरी चराले बगेको सफा पानी भएको खोलामा ढुंगा र ग्राभेलको तल बस्ने साना किरा र त्यसका लार्भा खाने बताउँदै उहाँले खोलाको पानी प्रदुषित नभएका स्थानमा मात्र यो चरा पाउन सकिने बताउनुभयो । तिलहरी चरा हेर्नका लागि विदेशी पर्यटकहरू समेत हेटौँडा आउने गरेको उहाँको भनाइ छ । 

हेटौँडालाई चरा पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने हिमालयन राइडर्स सोसाइटी, हेटौँडाका अध्यक्ष राजुथापा मगर बताउनुहुन्छ । हेटौँडालाई चरा पर्यटनको गन्तव्यका रूपमा विकास गर्नका लागि यस क्षेत्रका जलसम्पदाको संरक्षणका साथै चराको वासस्थान संरक्षणका लागि सबैको एकतावद्ध प्रयास आवश्यक रहेको उहाँले बताउनुभयो ।

“हामी साइक्लिङका माध्यमबाट स्वास्थ्य, पर्यटन, पर्यावरणको विकास गर्ने अभियान अन्तर्गत हेटौँडा र आसपासका विभिन्न गन्तव्यमा पुग्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “पर्याप्त सङ्ख्यामा चरा पाइने आसपासका गन्तव्यमा चराको संंरक्षणसँगै चरा पर्यटनको विकास पनि अपरिहार्य देखिन्छ ।”

पर्यावरण जोगाउन चराचरको वासस्थान संरक्षण गर्नु अपरिहार्य भएको बताउँदै उहाँले त्यसका लागि जलसम्पदाको संरक्षण एवम् वृक्षरोपणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।