ललितपुर, २३ भदौ : गृहमन्त्री सुधन गुरुङले हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा आफू रहेकाले पदको घमण्ड र स्वार्थ नभएको स्पष्ट पार्नुभएको छ । जेनजी सहिदको सम्मान र जिम्मेवारी बहन गर्दै जनताका सपना साकार पार्न आफू राजनीतिक नेतृत्वमा आएको उहाँको भनाइ छ ।
विसं २०८२ भदौ २३ गते भएको जेनजी आन्दोलनका सहिद विनोद महर्जनको सालिक अनावरण कार्यक्रममा आज उहाँले नेपाल बन्छ भन्ने सपना र आशा पूरा गर्ने जिम्मेवारी सरकारको भएको बताउनुभयो । “हामी शहिदका मात्रै हैन सम्पूर्ण नेपालीको सपना साकार पार्ने अभियानमा छौँ”, उहाँले भन्नुभयो, “म सरकारमा पद र सत्ता उपभोग गर्न नभई नेपाली जनताको सेवा गर्न आएको हुँ । गृहमन्त्रीको कुर्सीलाई पदभन्दा बढी जिम्मेवारीका रूपमा लिएको छु, सहिदको सपना र नेपाली जनताको अपेक्षा पूरा गर्न अन्तिम साससम्म काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
मन्त्री गुरुङले जेनजी सहिदको शवलाई पशुपतिको आर्यघाटमा काँध थाप्दाको क्षण सम्झिँदै आफू राजनीतिमा आउन इच्छुक नभए पनि सहिदको सपना पूरा गर्ने र परिवार तथा देशप्रतिको जिम्मेवारीका कारण राजनीतिमा आउन बाध्य भएको धारणा राख्नुभयो । उहाँले भ्रष्टाचार र सत्ताको मोहमा रहेका राजनीतिज्ञप्रति पनि आलोचना गर्नुभयो । सबै राजनीतिज्ञ खराब नभएको उल्लेख गर्दै उहाँले असल नेताबाट सिक्न र सत्ताको लोभ त्याग्न आग्रह गर्नुभयो । सरकार भनेको नागरिक दुःखमा पर्दा कुर्सीमा बसेर भाषण मात्र गर्ने नभई विपत्तिको समयमा आफैँ घटनास्थलमा पुग्नुपर्ने बताउनुभयो ।
“तपाईंको दुःख मेरो नै दुःख हो भनेर आफैँ फिल्डमा कुद्ने सरकार जनताले खोजेको हो”, गृहमन्त्रीले भन्नुभयो । उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विपत्तिका समयमा गरेको उद्धार तथा सेवाको उच्च प्रशंसा गर्दै सुरक्षाकर्मीको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
पूर्वमन्त्री एवं ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य जगदीश खरेलले सालिकले विनोद महर्जनको सम्झना गर्ने र सत्कर्म गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै सहिदलाई अमर बनाउने गरी काम गर्ने धारणा राख्नुभयो । उहाँले जेनजी आन्दोलनपश्चात् बनेको सरकारमा प्रतिनिधित्व गरेर सकारात्मक काम गरेको जानकारी गराउँदै सिद्धान्त, आचरण र व्यवहारमा राजनीतिक इमानदारी देखाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले सरकारले सधैँभरि जनताको सेवक बनेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबु महर्जनले सहिद विनोद महर्जनले पुर्याएको योगदानको सम्मान व्यक्त गर्दै सहिदका नाममा ललितपुर महानगरपालिकाभित्र हुने काममा रचनात्मक सहयोग गर्न तत्पर रहेको धारणा राख्नुभयो ।
सहिद विनोद महर्जनका दाजु काजीरत्न महर्जनले सहिद विनोद महर्जनको सालिक निर्माण गर्न सहयोग पुर्याउने स्थानीय समाजसेवी प्रेमकृष्ण महर्जन र वडा नं.७ का अध्यक्ष कुलबहादुर महर्जनले पुर्याएको उल्लेखनीय सहयोगको स्मरण गर्दै सबैमा धन्यवाद व्यक्त गर्नुभयो । टोल सुधार समितिका अध्यक्ष बाबुराजा महर्जनले देशको नागरिकको अधिकार, सम्मान र अधिकारका लागि जीवन आहुति दिने सहिदको सालिक अनावरण गर्न पाएकोमा सन्तुष्टि व्यक्त गर्नुभयो ।