भदौ २३, २०८३ मंगलबार

काठमाडौँ, २३ भदौः यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएका बाढीका कारण प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम सङ्कलन भइरहेको छ । 

    विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकाय, सङ्घसंस्था, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, स्थानीयलगायतले रकम सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिरहेका छन् ।

    रुसमा रहेका नेपालीहरूले भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि रु २० लाख सहयोग सङ्कलन गरी नेपाल ल्याएर प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् । रुसबाट नेपालमा रकम पठाउने आधिकारिक तथा सहज माध्यमको अभावका कारण सहयोग रकम सङ्कलन गरी नेपाल ल्याएर हस्तान्तरण गरिएको एनआरएनए रसियाका अध्यक्ष सीताराम कटेलले जानकारी दिनुभयो ।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) रुसका महासचिवसहितको टोलीले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो । रकम जम्मा गरिएको विषयमा नेपालका अर्थमन्त्रीलाई समेत जानकारी गराइएको एनआरएनए रुसले जनाएको छ ।

    सहयोग रकम सङ्कलन हुने क्रम अझै जारी रहेको जनाउँदै एनआरएनए रुसले सङ्कलित थप रकम पुनःनिर्माणका साथै एनआरएनए केन्द्रीय समितिमार्फत विभिन्न परोपकारी कार्यमा खर्च गर्ने जनाएको छ ।

    पछिल्लो समय रुसमा श्रमिकको माग बढेसँगै विभिन्न माध्यमबाट त्यहाँ प्रवेश गर्ने नेपालीको सङ्ख्या पनि उल्लेख्य रूपमा बढिरहेको छ । नेपाल सरकारले रुसका लागि श्रम स्वीकृति रोकेको अवस्था तथा रूसबाट नेपालमा आधिकारिक रूपमा रेमिट्यान्स पठाउने सहज माध्यमसमेत उपलब्ध नभएकाले नेपाली श्रमिकहरू अनौपचारिक बाटोबाट रुस प्रवेश गर्न बाध्य भइरहेको सङ्घको भनाइ छ ।

    पर्सा प्याब्सनद्वारा बाढीपीडितलाई १५ लाख राहत सहयोग

    निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) पर्साले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारका लागि रु १५ लाख राहत स्वरुप सहयोग गरेको छ । विद्यालयका अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट स्वेच्छिक रूपमा सङ्कलन गरिएको सो रकम आज प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको प्याब्सन पर्साका जिल्ला सचिव अशोक सङ्ग्रौलाले जानकारी दिनुभयो ।

    प्याब्सन पर्साले बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले विद्यालय परिवारको सामूहिक सहभागितामा राहत अभियान सञ्चालन पनि गर्दै आएको छ । अध्यक्ष सरोजप्रसाद चौधरीले देशमा बाढी, पहिरोको कारण ठुलो जनधनको क्षति भएको उल्लेख गर्दै सहयोगका लागि सबैलाई आह्वान गर्नुभयो । 

    धनगढी नगर प्याब्सनद्वारा रु २८ लाख ६१ हजार सहयोग

    भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि धनगढी नगर प्याब्सनले रु २८ लाख ६१ हजार १० सहयोग गरेको छ । धनगढी नगर प्याब्सनअन्तर्गतका सदस्य विद्यालय, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट सङ्कलन भएको सो रकम प्याब्सन कैलाली जिल्ला कमिटीलाई हस्तान्तरण गरी ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा जम्मा गरिने लागि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

    धनगढी नगर प्याब्सनका अध्यक्ष ध्रुवबहादुर सिंहले प्राकृतिक विपद्को यस परिस्थितिमा सहयोग गर्नु हाम्रो उच्च मानवीय दायित्व रहेकाले राहतस्वरुपा रकम सङ्कलन गरिएको बताउनुभयो । सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई आत्मसात् गर्दै केही समय अघिदेखि धनगढी नगर प्याब्सनले आफ्ना सदस्य विद्यालयहरूबाट आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो ।

    व्यास नगरपालिकाद्वारा २१ लाख सहयोग

    तनहुँको व्यास नगरपालिकाले बाढीपीडितको राहत र पुनःस्थापनका लागि रु २१ लाखभन्दा बढी रकम सहयोग गरेको छ । नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २१ लाख ३९ हजार ५६५ सहयोग गरेको हो । 

    नगरपालिकाको विपद् पुनःस्थापना कोषबाट रु पाँच लाख ५१ हजार र जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रमिकबाट रु १५ लाख ८८ हजार ५६५ उद्धार कोषमा जम्मा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । उहाँले नगरपालिकाअन्तर्गतका सम्पूर्ण शिक्षकलाई समेत विद्यालयमार्फत् सहयोग रकम सङ्कलन गरी जम्मा गर्न अनुरोध गरिएको बताउनुभयो । 
---