काठमाडौँ, २४ भदौः अवैध रूपमा लुकाईछिपाई राखिएको ठूलो परिमाणको विस्फोटक पदार्थ (पटाका) सहित प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुजन कपाली रहेका छन् ।
काठमाडौँ महानगरपालिका–१८ भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटाका लुकाईछिपाई राखेर बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उक्त स्थानमा पुगेर जाँच गरेको थियो ।
जाँचका क्रममा प्रहरीले कपालीलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ (पटाका) बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार बरामद पटाका अवैध रूपमा भण्डारण तथा बिक्री वितरण गर्ने उद्देश्यले राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका कपालीविरुद्ध प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।