भदौ २४, २०८३ बुधबार

बागलुङ, २४ भदौः बागलुङका उत्पादनयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ । 
    
    कृषि विकास कार्यालय, बागलुङले परीक्षण गरेका ३२० माटोका नमूनामध्ये अधिकांशमा अम्लीयपना देखिएको हो ।

    माटोमा नाइट्रोजन तथा फस्फोरसको मात्रा न्यून वा मध्यम रहेको छ । परीक्षण गरिएका नमूनामध्ये २०५ वटामा नाइट्रोजनको मात्रा न्यून, १११ वटामा मध्यम र चार वटामा उच्च रहेको छ । 
    
    त्यस्तै, फस्फोरस ११ वटामा न्यून, ३०३ वटामा मध्यम र छ वटामा उच्च रहेको कृषि विकास कार्यालयका प्रमुख कुमार पुनले जानकारी दिनुभयो ।
पोटासियमतर्फ ८० नमूनामा मात्रा न्यून, २१७ वटामा मध्यम र २३ वटामा उच्च रहेको उहाँले बताउनुभयो ।
    
    माटोको अम्लीयपन (पीएच) परीक्षण गर्दा ६२ प्रतिशत माटो अम्लीय, ३७ प्रतिशत तटस्थ र एक प्रतिशत क्षारीय रहेको पाइएको छ । 

    माटोको अम्लीयपन बढ्दै गएकाले कृषि उत्पादन वृद्धि गर्न माटोको अवस्था पहिचान गरी आवश्यकताअनुसार चुन तथा पोषक तत्वको प्रयोग गर्नुपर्ने देखिएको छ ।

    कृषि विकास कार्यालयले जैमिनी नगरपालिका–२, काठेखोला गाउँपालिका–९ र बागलुङ नगरपालिका–८ मा माटो परीक्षण शिविर सञ्चालन गरेको थियो । कृषि विकास कार्यालयका प्रमुख कुमार पुनका अनुसार असन्तुलित मल प्रयोगका कारण माटो बिग्रिँदै गएको छ । 
    
    पछिल्लो समय प्राङ्गारिक मलको प्रयोग घटेकाले माटोमा अम्लीयपन बढेको उहाँको भनाइ छ । माटोमा बढेको अम्लीयपन र क्षारीयपनलाई तटस्थ बनाउन प्राङ्गारिक तथा हरियो मलको प्रयोग र कोसेबाली लगाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

    युरिया मलको बढ्दो प्रयोगले माटोको अवस्था बिगार्न सक्ने भएकाले नाइट्रोजन, फस्फोरस र पोटासियमयुक्त मल सन्तुलित रूपमा प्रयोग गर्नुपर्ने प्राविधिकको भनाइ छ ।

    माटोमा अम्लीयपन बढ्दा उर्वराशक्तिमा ह्रास आउने परीक्षणबाट देखिएको छ । माटो परीक्षणमा पीएच एकदेखि १४ सम्म हुने र सातलाई तटस्थ मानिने कृषि प्राविधिकले बताएका छन् । पीएच सातभन्दा कम भए अम्लीय र त्यसभन्दा बढी भए क्षारीय मानिन्छ । 

    धानखेतीका लागि करिब छ पीएचसम्मको माटो उपयुक्त मानिन्छ । किसानले बालीमा जथाभावी रासायनिक मल तथा विषादी प्रयोग गर्दा माटोमा अम्लीयपन बढेको कृषि प्राविधिकको भनाइ छ ।