जनकपुरधाम, २५ भदौः मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ । यसमा विपन्न तथा दलित परिवारका आवासदेखि सरकारी कार्यालय, सामुदायिक भवन र धर्मशालासम्म समेटिएका छन् ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ देखि आव २०८२÷८३ सम्म जनता आवास कार्यक्रमअन्तर्गत २० हजार ३७८, महेन्द्रनारायण निधि आवास कार्यक्रमअन्तर्गत दुई हजार ४१२ र विपन्नसँग मदन भण्डारी आवास कार्यक्रमअन्तर्गत चार हजार ७८ आवास निर्माण भएका छन् ।
यस अवधिमा ८५६ सरकारी भवन, २९१ सामुदायिक भवन र ६८ धर्मशालासमेत निर्माण भएका छन् । मन्त्रालयका सूचना अधिकारी रोहित जोशीले प्रदेशका आठवटै जिल्लामा आवश्यकता र प्राथमिकताका आधारमा ती संरचना निर्माण गरिएको जानकारी दिनुभयो ।
मधेश प्रदेशको आवास कार्यक्रमको सबैभन्दा महत्वपूर्ण पक्ष विपन्न तथा दलित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउनु हो । वर्षौंदेखि कमजोर तथा असुरक्षित घरमा बस्दै आएका परिवारका लागि पक्की आवास निर्माण भएपछि उहाँहरूको जीवनशैलीमा परिवर्तन आएको छ ।
जनता आवास कार्यक्रमअन्तर्गत मात्रै आव २०७७÷७८ मा नौ हजार ४५, आव २०७८÷७९ मा दुई हजार ७२८, आव २०७९÷८० मा छ हजार ३९३, आव २०८०÷८१ मा ११५, आव २०८१÷८२ मा एक हजार ६४८ र आव २०८२÷८३ मा १९० आवास निर्माण भएका छन् ।
यसरी हजारौँ परिवारले वर्षा, हावाहुरी तथा अन्य प्राकृतिक जोखिमबाट जोगिने सुरक्षित आवास पाएका छन् । प्रदेश सरकारको अर्को महत्वपूर्ण उपलब्धि सरकारी भवन निर्माण पनि हो । प्रदेश सरकार स्थापना भएपछि विभिन्न सरकारी कार्यालयका लागि आवश्यक भवन निर्माणलाई प्राथमिकता दिइएको छ ।
आव २०७७÷७८ देखि आव २०८२÷८३ सम्म ८५६ सरकारी भवन निर्माण सम्पन्न भएका छन् । आव २०७७÷७८ मा नौ, आव २०७९÷८० मा तीन, आव २०८०÷८१ मा २३८, आव २०८१÷८२ मा ३१७ र आव २०८२÷८३ मा २८९ सरकारी भवन निर्माण भएको मन्त्रालयले जनाएको छ । आफ्नै भवन भएपछि सरकारी कार्यालय सञ्चालनमा सहजता हुनुका साथै सेवाग्राहीले पनि व्यवस्थित वातावरणमा सेवा लिन पाउने अवस्था बनेको मन्त्रालयको भनाइ छ ।
गाउँटोलमा विवाह, बैठक, सामाजिक कार्यक्रम तथा अन्य सामुदायिक गतिविधि सञ्चालन गर्न आवश्यक संरचनाको मागलाई सम्बोधन गर्न प्रदेश सरकारले सामुदायिक भवन निर्माणलाई प्राथमिकता दिएको छ । पछिल्लो अवधिमा २९१ सामुदायिक भवन निर्माण भएका छन् । आव २०७७÷७८ मा ९७, आव २०७८÷७९ मा २७ र आव २०७९÷८० मा १६७ सामुदायिक भवन निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, विवाह, व्रतबन्धलगायत सामाजिक तथा सांस्कृतिक कार्यक्रमका लागि प्रदेशका जिल्लाहरुमा ६८ धर्मशाला निर्माण भएका छन् ।
प्रदेश सरकारका अनुसार भवन निर्माणलाई केवल भौतिक संरचना थप्ने कामका रूपमा मात्र नभई नागरिकको जीवनस्तर सुधारसँग जोडिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता प्रविणप्रताप अधिकारीले आधारभूत भौतिक पूर्वाधारको विकासमार्फत नागरिकलाई सहज सेवा, सुरक्षित आवास र सामाजिक गतिविधिका लागि आवश्यक संरचना उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताउनुभयो । “पूर्वाधार विकासलाई नागरिकको सामाजिक तथा आर्थिक समृद्धिसँग जोडेर सरकारले काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।
–––