महोत्तरी, २५ भदौः महोत्तरी जिल्लामा तीन/चार दशकयता निकै घटेको कोदाकोे खेती पछिल्लो केही वर्षयता भने बढ्दै गएको छ । पछिल्लो वर्षमा गुणकारी कोदोको विशेषताबारे बढी चर्चा हुन थालेपछि यहाँ किसानले कोदोखेती बढाउँदै लगेको पाइएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ३०० हेक्टरमा गरिएको कोदोखेती दुई वर्षपछि आव २०८१/८२ मा ३७५ हेक्टरमा लगाइएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरको तथ्याङ्क अभिलेखमा उल्लेख छ ।
यसैगरी, आव २०८२÷८३ मा यो केही बढेर ३८२ हेक्टरमा खेती लगाइएको कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो बताउनुहुन्छ । यसपाली चालु आव २०८३/०८४ मा यो खेती ५०० हेक्टरको सेरोफेरोमा पुग्ने अनुमान छ ।
पछिल्ला वर्षमा क्षेत्रफल मात्र नभएर कोदोको उत्पादन पनि बढ्दै गएको पाइएको छ । आव २०७८/७९ मा ३३० मेट्रिकटन उत्पादन भएको कोदो दुई वर्षपछि आव २०८१/८२ मा ४१२ मेट्रिकटन उत्पादन भएको थियो । गत आव २०८२/०८३ मा ४२० मेट्रिकटन उत्पादन भएको कृषि विज्ञसमेत रहनुभएका महतोले बताउनुभयो । यसपाली कोदोको उत्पादन ६५० मेट्रिकटनको सेरोफेरोमा हुने कार्यालयको ठम्याइ छ ।
महोत्तरीमा कोदो बर्खा र हिउँद दुई मौसममा लगाउने चलन छ । दुबै मौसममा उत्पादन उस्तै अनुपातमा भए पनि हिउँदमा बाली टिप्न र थन्क्याउन सहज हुने किसानको अनुभव छ । विसं २०४० को दशकमा बुबाले १० कट्ठा क्षेत्रफलमा कोदो लगाउने गर्नुभएको भङ्गाहा–४ का किसान गङ्गाराम महतोलाई राम्रै हेक्का छ । तर त्यतिखेर कोदोले राम्रो भाउ नपाएपछि विस्तारै यो खेती घट्दै गएको उहाँ बताउनुहुन्छ । पछिल्ला वर्षमा कोदोको विशेषताबारे राम्रो प्रचार हुन थालेपछि फेरि किसानले कोदोखेती बढाउँदै लगेका किसान महतोको भनाइ छ । “अहिले त अरु अन्नभन्दा कोदोले राम्रो दाम पाउन थालेको छ, कोदो चाहिले व्यक्तिले घरै आएर लाने गर्छन्”, उहाँ भन्नुहुन्छ, “म आफैँ सुगर (मधुमेह) को बिरामी छु, नियमित कोदोको रोटी खानामा प्रयोग गर्छु ।”
आफैँले प्रयोग गर्ने र बेच्दा पनि राम्रो भाउ पाएपछि पछिल्ला चार÷पाँच वर्षयता खेती बढाउँदै लगेको उहाँले बताउनुभयो । कोदोको ढिँडो अचेल भान्सामा विशेष परिकार बनेको छ । अहिले कोदोको पीठोबाट बिस्कुट र स्वादिष्ट हलुवा पनि बनाइने गरिएको छ । यद्यपि मधेसमा भने कोदो रोटीकै रुपमा खाने गरिँदै आएको छ ।
जिल्लामा विसं २०४० अघिसम्म करिब दुई हजार हेक्टरभन्दा बढी जग्गामा कोदोखेती हुने गरेको तत्कालीन कृषि विकास कार्यालयका अधिकृत वाणिकराज काफ्लेलाई राम्रो हेक्का छ । खासगरी सिँचाइको पहुँच नपुगेका पाखाबारीमा मुख्यबालीकै रुपमा कोदो र मकै लगाउने चलन रहेको काफ्ले सम्झनुहुन्छ ।
“कोदो एकपटक खाएपछि धेरैबेरसम्म टिक्न सकिने हुँदा गरिबको खान्की बुझिन्थ्यो, सम्पन्न किसान यसको खेती गर्दैनथे”, विगत सम्झँदै काफ्ले भन्नुहुन्छ, “पछिपछि विभिन्न रोगले गाँज्नेक्रम बढेसँगै कोदोको प्रचार बढ्यो, अहिले त सम्पन्न भनिनेहरु खेती नगरे पनि झोला बोकेर कोदो किन्न बजार पुग्छन् ।”
खासगरी मधुमेहका रोगीले कोदो रुचाउन थालेपछि कोदोको महत्त्व, मूल्य र खेती पनि बढ्दै गएको छ । कोदोमा शरीरलाई स्वस्थ्य रहन चाहिने कार्बोहाइड्रेट, फाइबर (आहारजन्य रेसा), प्रोटिन, क्याल्सियम र म्याग्नेसियम, फसफोरस, फलाम तथा पोटासियमसहितका खनिज प्रशस्त पाइने हुँदा माग बढेको बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रितेश घिमिरे बताउनुहुन्छ ।
उहाँले खासगरी फाइबर र खनिज कोदोमा प्रशस्त पाइने हुँदा पाचन प्रणाली तन्दुरुस्त राख्न खानामा कोदोको प्रयोग निकै राम्रो हुने बताउनुभयो ।
।