काठमाडौँ, २५ भदौः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आज बाट ‘प्रतिध्वनि’ कला प्रदर्शनी सुरु गरेको छ ।
जेनजी आन्दोलनका सहिद, कलाकार विनोद महर्जन तथा आन्दोलनका घाइते फोटोग्राफर दीपेन्द्र ढुङ्गनाको जीवन समेटिएका तस्बिर प्रदर्शनीमा राखिएका छन् ।
प्रतिष्ठानको चन्द्रमानसिंह मास्के ग्यालरीमा गरिएको प्रदर्शनी भदौ २८ गतेसम्म रहनेछ ।
दिवङ्गतसहित कलाकार महर्जन मूर्तिकला, काष्ठकला, धातुकला, चित्रकला तथा परम्परागत कलामा दक्ष हुनुहुन्थ्यो । उहाँले विसं २०७० देखि धातुको मूर्तिको मुहार चित्रण तथा ‘फिनिसिङ’ गर्ने कलाकारका रूपमा काम गर्नुभएको थियो ।
सुन तथा चाँदीको इलेक्ट्रोप्लेटिङमा महर्जन दक्ष हुनुहुन्थ्यो । उहाँका सीपमा काठका मूर्ति तथा नकासी गर्ने, एक्रिलिक तथा क्यानभासमा चित्र बनाउनेलगायत काम पर्दछन् ।
नयाँ पत्रिका दैनिकमा कार्यरत दीपेन्द्र ढुङ्गना फोटो पत्रकारितामा विगत छ वर्षदेखि सक्रिय छन् । उहाँले बिबिसी, नोओस्फियर, मोङ्गाबे र निक्केई एसियाजस्ता अन्तरराष्ट्रिय सञ्चारमाध्यमा पनि आबद्ध भई काम गर्नुभएको छ ।