भदौ २५, २०८३ बिहिबार

काठमाडौँ, २५ भदौः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढीपछि सिर्जित विपद्मा प्रभावकारी रूपमा खोज, उद्धार र राहतका काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको विशेष समयमा उहाँहरूले भोटेकोशी बाढीका कारण आएको विपद्मा प्रभावितको उद्धार, राहतका साथै खाना पकाउने ग्यासको सहज आपूर्तिका लागि सरकारसँग माग गर्नुभयो ।

    बैठकमा सांसद मोहन आचार्यले भोटेकोशी बाढीमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै जलविद्युत् आयोजना पनि ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभयो । उहाँले सुरुङमा उद्धार र राहतका कार्य भइरहेको, उद्धार गरिएका प्रभावित जनता विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेकाले उहाँहरूको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । रसुवाका गाउँमै केही गरौँ भन्ने युवाहरूले मृत्युवरण गर्नुपरेको र बाँचेका पनि के गर्ने भनेर चिन्तित रहेका जानकारी गराउँदै उहाँले शिक्षा, ऋण र बिमासम्बन्धी विशेष प्याकेज ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।

    सांसद गणेशसिंह ठगुन्नाले भोटेकोशी बाढीपछि आएको प्राकृतिक विपद्मा खोज र उद्धारको काम प्रभावकारी रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले विपद्मा सरकार एक्लै हिँड्नुभन्दा पनि सबैको सहयोग र समन्वयमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले खाना पकाउने ग्यासको सहज आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ठगुन्नाले निजामति सेवा ऐन समयमा नआउँदा प्रशासनिक क्षेत्रमा दुविधा देखिएकाले छिटोभन्दा छिटो ऐन ल्याउनु आग्रह गर्नुभयो ।

    सांसद बालावती शर्माले एकातिर बाढीपछिको विपद् र अर्काेतिर खाना पकाउने ग्यासको अभावले जनता थप पीडामा रहेका बताउनुभयो । उहाँले चाडपर्वको मुखमा जनताले यो सास्तीले भोग्नुपरेको बताउँदै होल्डिङ सेन्टरमा रहेका महिला र बालबालिकाका लागि छुट्टै व्यवस्था गर्न माग गर्नुभयो ।
 
    सांसद ध्रुवराज राईले बाढीपछि बेपत्ता भएकाहरूको खोजी कार्य निरन्तर जारी गर्नुपर्ने भन्दै त्यसको वस्तुस्थितिको वास्तविकताका बारेमा आजनतालाई जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले सुरुङलगायत स्थानमा छिटो उद्धार र राहतको काम गर्न माग गर्दै कतिपय स्थानमा अझै राहत सामग्री नपुगेको जानकारी पाइएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले ग्यासको हाहाकार भएको भन्दै समाधान गर्न माग गर्नुभयो । सामाजिक सञ्जालमा गालीगलौज बढेको भन्दै उहाँले नियन्त्रण गर्न माग गर्नुभयो ।

    सांसद ताहिरअलि भाटले बाढी प्रभावितको दीर्घकालीन पुनःस्थापना तत्काल योजना बनाई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले हिमाललाई बचाउन र कार्बन उत्सर्जनका कारण भोटेकोशी बाढी भएको विषय प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिनुभयो । नेपालले जलवायु न्याय पाउनुपर्ने विषयलाई राख्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

    सांसद इन्दिरा रानामगरले बाढी गएको क्षेत्रका बालबालिका बढी प्रभावित भएका बताउँदै छुट्टै संरक्षण नीतिको आवश्यकता औँल्याउनुभयो । होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई मनोसामाजिक परामर्श दिनुपर्ने सुझाव दिँदै उहाँले पनि विश्वव्यापी तापक्रमका कारण भोटेकोशी बाढी विपद् भएको तर्क उठान गर्नुपर्ने बताउनुभयो ।

    सांसद निश्कल राईले जेनजी आन्दोलन सुशासन कायम राख्न र भ्रष्टाचार नियन्त्रणको माग राख्दै भएको उल्लेख गर्दै सबैले त्यसको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सधैँ विपद्को सारथी बनेको रेडक्रस आज आफैँ घाइते भएको बताउँदै रेडक्रसमा आन्तरिक लोकतन्त्र कायम हुन नसकेको टिप्पणी गर्नुभयो । सांसद राईले मलेसियामा रोजगारीका लागि सीमित व्यवसायी कम्पनीलाई मात्र जिम्मेवारी दिने भन्ने विषय सार्वजनिक भएकोप्रति असहमति जनाउँदै सत्यतथ्य उजागर हुनुपर्ने माग गर्नुभयो ।