झापा, २५ भदौः कनकाई नगरपालिका–१ र २ मा स्थित पूर्वकै पुरानो र चर्चित पर्यटकीय गन्तव्य जामुनखाडी सिमसारमा अहिले आकर्षणका रूपमा ‘फिसिङ’ अर्थात् बल्छी हालेर माछा मार्ने कार्यक्रम सुरु गरिएको छ ।
जिल्लाका सामुदायिक वनमा रहेका पर्यटकीयस्थलमध्ये जामुनखाडीमा पहिलो पटक चालु आर्थिक वर्षको भदौको दोस्रो सातादेखि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
विसं २०६५ मा स्थापित सामुदायिक वनको कुल ४४३ हेक्टर क्षेत्रमध्ये ३२ हेक्टरमा पर्यटकीय तथा सिमसार क्षेत्र फैलिएको छ । स्थापनाकालदेखि नै जोखिममा परेका वन्यजन्तुलाई आश्रय दिँदै आएको त्यस क्षेत्रमा हाल दुईवटा कृत्रिम पोखरी छन् । ठूलो पोखरीमा करिब ४० क्विन्टल र सानो पोखरीमा १० क्विन्टल विभिन्न प्रजातिका माछा रहेको त्यस वन उपभोक्ता समूहका अध्यक्ष पर्शुराम गिरीले जानकारी दिनुभयो ।
अध्यक्ष गिरीका अनुसार पर्यटकका लागि सानो पोखरीमा फिसिङको व्यवस्था मिलाइएको र त्यहाँ १०० ग्रामदेखि एक किलोग्रामसम्मका माछा रहेको जानकारी दिइएको छ । फिसिङका लागि आन्तरिक तथा भारतीय पर्यटकको उपस्थिति बाक्लो रहेको पाइएको छ । पर्यटकले पर्यटकीयस्थल प्रवेशका लागि रु १०० र फिसिङका लागि थप रु १०० दस्तुर तिरेपछि दिनभर माछा मार्न पाउने व्यवस्था गरिएको छ । थप दस्तुर तिरेपछि माछा मार्ने बल्छी र चारोको व्यवस्था सामुदायिक वनले नै उपलब्ध गराउँदै आएको छ ।
फिसिङ गरी मारिएका माछा स्वयं पर्यटकले प्रतिकेजी रु ५०० मा खरिद गरेर लैजान पर्नेछ । हाल त्यहाँ आउने व्यक्तिले दैनिक एकदेखि पाँच किलोग्रामसम्म माछा मार्ने गरेका छन् । सार्वजनिक बिदाका दिन फिसिङ गर्ने पर्यटकको घुइँचो लाग्ने गरेको छ । आगामी बडादसैँको अवसर पारेर यहाँ ‘फिसिङ प्रतियोगिता’ सञ्चालन गर्ने लक्ष्य पनि राखिएको छ ।
यसअघि दुवै पोखरीमा डुङ्गा सयरको सुविधा मात्र उपलब्ध थियो । वन्यजन्तु संरक्षणको क्षेत्रमा समेत योगदान पु¥याउँदै आएको जामुनखाडीमा चितुवा, मृग, अजगर, भालुलगायतका जनावर तथा गिद्ध, चिल, हुचिल र लाटोकोसेरो जस्ता पक्षी संरक्षित छन् । कोशी प्रदेश सरकारले यस क्षेत्रलाई वन्यजन्तु संरक्षण केन्द्रका रूपमा विकास गरेको छ ।