भदौ २५, २०८३ बिहिबार

काठमाडौँ, २५ भदौः संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र नोक्सानी सम्बोधन कोषले नेपालले पठाएको पत्रको जवाफ दिएको छ ।

    विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन गरी पठाएको हो ।

    हानि र नोक्सानी सम्बोधन कोषको सञ्चालक समितिको सह-अध्यक्षको हैसियतमा, आकस्मिक रूपमा आएको विनाशकारी भोटेकोशी बाढीका कारण भएको ठूलो हानि र नोक्सानीप्रति नेपालका जनताप्रति समवेदना व्यक्त गरिएको छ । पत्रमार्फत नेपाली जनताप्रति अटुट एकबद्धता प्रकट गरिएको छ ।

    नेपालको जरुरी अनुरोधलाई यथाशक्य छिटो सम्बोधन गर्न कोषका सञ्चालक समितिसँग संलग्न भइरहेको भनी पत्रमार्फत आश्वस्त पारिएको छ । प्रतिक्रिया सकेसम्म द्रुत र अर्थपूर्ण होस् भन्नका लागि सञ्चालक समितिले कोषको विद्यमान जनादेश, ढाँचा, संरचना, नीति र प्रक्रियाहरू भित्रका विकल्पहरूमा विचार गर्न सिफारिस गरेको जनाएको छ ।

    कोषको सञ्चालक समितिका सह-अध्यक्षहरू क्यामिला मिनर्भा रोड्रिगेज तावरेज र जोर्ज बोस्र्टिङद्वारा प्रेषित पत्रमा नेपाल सरकारले प्रारम्भिक मूल्याङ्कन, आधिकारिक तथ्याङ्क, उपग्रह (स्याटेलाइट) जानकारी र क्षति अनुमान उपलब्ध गराउन व्यक्त गरेको तत्परताको उच्च सराहना गरिएको छ ।
---