मंसिर ३, २०७८ शुक्रबार

सरकारले एशियाली विकास बैंकबाट प्राप्त हुने थप सहुलियतपूर्ण ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्विकार गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा डा. श्यामसुन्दर यादव, भिमसिंह  तिङ्करी  र डा. गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको प्रवक्ता कार्कीले बताए।

बैठकले पशु कल्याण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमती प्रदान गरेको छ। पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका लागि समिति गठन गर्ने निर्णय पनि गरिएको छ। संक्रमण पशुरोग  नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमती पनि मन्त्रिपरिषद् बैठकले दिएको मन्त्री कार्कीले बताए

यस्तै सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रहरुको इजिप्टमा हुने नवौं सम्मेलनमा भाग लिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने प्रस्ताव पनि स्वीकृत गरेको छ। त्यसैगरी नायव महालेखा परीक्षकमा बाबुराम सुवेदी, सहमहालेखा नियन्त्रकमा उमाकान्त आचार्य र नेपाल चार्टर एकाउन्टेन्टस् संस्थाको पार्षदमा बैकुण्ठबहादुर अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताए।  

बैठकले एशियन–अफ्रिकन लिगल कन्सलटेटिभ अर्गानाईजेशनको ५९ औं वार्षिक सभामा भाग लिन कानून, न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने प्रस्ताव पनि स्विकृत गरेको छ। रक्षामन्त्री डा. मिनेन्द्रप्रसाद रिजाल नेतृत्वको प्रतिनिधिमण्डललाई दक्षिण कोरियामा हुने यूएन पिस किपिङ मिनिष्ट्रियल मिटिङमा भाग लिन पठाउने प्रस्ताव पनि स्वीकृत गरिएको छ।

बैठकले मोरक्कोमा हुने इन्टरनेशनल एक्जुक्यूटिभ काउन्सिल अफ आईईसी सम्मेलनमा सिंचाई सचिव सागरकुमार राईलाई सहभागी हुन स्विकृति दिएको छ।