नेपालगन्ज (बाँके), २६ भदौः “सिधनियाघाटस्थित राप्तीमा पुल निर्माण भइरहेको छ, त्यो पुलको लम्बाइ थप गरी नदीको बहाव क्षेत्रलाई समेट्नसके अझ राम्रो हुने थियो”, राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेलले भन्नुभयो ।
बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने उक्त घाटस्थित राप्तीमा निर्माणाधीन पुलको लम्बाइ थप विस्तार गर्न स्थानीयको दबावपछि वडाध्यक्षले उक्त प्रतिक्रिया दिनुभएको हो ।
सरकारले हाल निर्माण गरिरहेको ७०० मिटर लामो पुललाई थप ४४० मिटर विस्तार गर्नसके बाढी, डुबान तथा कटानको जोखिम न्यूनीकरणसँगै आवागमनमा थप सहजता हुने स्थानीयको भनाइ छ । त्यहाँ ११ मिटर चौडाइको नयाँ पक्की पुल निर्माणाधीन छ ।
पुरानो ३५० मिटर लामो एक लेनको पुल सञ्चालनमा रहेकै अवस्थामा सरकारले थप फराकिलो र लामो पुल निर्माणको योजना अघि बढाएको हो । नयाँ पुल निर्माणले यस क्षेत्रको आवागमन तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने स्थानीयको अपेक्षा छ ।
राप्तीसोनारी–६ का स्थानीय प्रदीपकुमार पौडेलले सुरुमा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार पुलको लम्बाइ एक हजार १४० मिटर आवश्यक देखिएको जानकारी आफूले पाएको बताउनुभयो ।
हाल ७०० मिटरको पुल निर्माण भइरहेका अवस्थामा बाँकी भाग समेट्ने गरी ४४० मिटर लम्बाइ बढाउन गर्नसके स्थानीयको दीर्घकालीन आवश्यकता सम्बोधन हुने उहाँको भनाइ छ ।
अर्का स्थानीय कवीर बूढाथोकीले राप्ती नदीको बहाव सिधनियाघाट क्षेत्रमा घुमेर पुनःपूर्वतर्फ जाने भएकाले वर्षायाममा नदीको बहावका कारण खेतीयोग्य जमिनमा कटान तथा डुबान हुने गरेको बताउनुभयो । निर्माणाधीन पुललाई थप विस्तार गर्नसके नदी व्यवस्थापनमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
राप्तीसोनारी–६ का वडासदस्य लक्ष्मी थारुले निर्माणाधीन पुलसँगै नदी व्यवस्थापनका लागि प्रस्तावित संरचनालाई स्थानीय आवश्यकता र भूगोलअनुसार अघि बढाउन आग्रह गर्नुभयो ।
उहाँले बगरमा किसानले फलफूललगायत विभिन्न खेती गर्दै आएको हुँदा विकास निर्माणका काम गर्दा कृषि क्षेत्रको संरक्षणलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
वडाध्यक्ष खरेलले सरकारले निर्माण गरिरहेको पुलले यस क्षेत्रको यातायात पूर्वाधारमा महत्वपूर्ण सुधार ल्याउने बताउँदै बाँकी भागमा संरचना विस्तार गर्नसके बाढी तथा डुबानको जोखिम घटाउन सहयोग पुग्ने बताउनुभयो ।
“विसं २०७० र २०७४ मा आएको बाढीले यहाँ ठूलो क्षति गरेको थियो । सरकारले पुल निर्माण गरिरहेको छ । बाँकी भागमा पुल विस्तार गर्नसके स्थानीयलाई थप सुरक्षित बनाउन सकिन्छ”, उहाँले भन्नुभयो ।
डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले पनि निर्माणाधीन पुललाई आवश्यकताअनुसार थप विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले पुल निर्माणसँगै नदी व्यवस्थापनका कामलाई प्रभावकारी रूपमा अघि बढाउनसके स्थानीयलाई दीर्घकालीन लाभ पुग्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कृष्णा केसी नमुनाले सरकारले अघि बढाएको पुल निर्माणलाई थप प्रभावकारी बनाउन स्थानीयको मागअनुसार बाँकी भागमा पुल निर्माण गर्नुपर्ने बताउनुभयो । “सरकारले अहिले ७०० मिटर लामो पुल निर्माण गरिरहेको छ । स्थानीयको मागअनुसार बाँकी ४४० मिटर पनि थप गर्नसके यस क्षेत्रका जनताको दीर्घकालीन आवश्यकता पूरा हुन्छ”, उहाँले भन्नुभयो । उक्त पुलको लम्बाइ विस्तार गर्न करिब रु १५ करोड आवश्यकपर्ने प्रारम्भिक अनुमान छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले स्थानीय नागरिक र जनप्रतिनिधिले थप पुल निर्माणको विषय उठाउँदै आएपछि सम्बन्धित सबैपक्षसँग छलफल गरिएको बताउनुभयो ।
उहाँका अनुसार कार्यालयको जिम्मेवारीमा रहेको ७०० मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुलको भौतिक प्रगति ७५ प्रतिशत र वित्तीय प्रगति ७४ दशमलव ८९ प्रतिशत पुगेको छ ।
पश्चिमतर्फ दुई वटा स्ल्याब निर्माण गर्न बाँकी रहेकाले पानीको बहाव कम भएपछि करिब दुईदेखि तीन महिनामा निर्माण सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।
“सरकारले तोकिएको जिम्मेवारीअनुसार पुल निर्माणको काम तीव्र रूपमा अघि बढाइरहेको छ । स्थानीय नागरिक तथा जनप्रतिनिधिले बाँकी भागमा पुल विस्तारको माग राख्नुभएको छ । उहाँहरूको माग र सुझावलाई सम्बन्धित माथिल्लो तहमा पठाउनेछौँ”, प्रमुख भण्डारीले भन्नुभयो ।
प्राविधिक रूपमा ७०० मिटरको पुल पर्याप्त भए पनि स्थानीयस्तरबाट थप संरचनाको आवश्यकता औँल्याइएकाले सामाजिक पक्षलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
भ्याटसहित रु एक अर्ब १९ करोडको लागतमा विसं २०७९ माघ ४ गते ठेक्का सम्झौता भएको उक्त पुल निर्माण कार्य विसं २०८४ असार ४ गते सम्पन्न गर्नुपर्ने कार्यालयले जनाएको छ । आयोजनाअन्तर्गत ७०० मिटर पुल निर्माणबाहेक नेपालगन्जतर्फ एक हजार मिटर र बघौडातर्फ ४८० मिटर पहुँच सडक निर्माण हुनेछ ।
त्यस्तै, नेपालगन्जतर्फ पुलको उत्तरमा ८०० मिटर र दक्षिणमा ३०० मिटर तथा बघौडातर्फ पुलको उत्तरमा दुई हजार ८० मिटर र दक्षिणमा ९७० मिटर तटबन्ध निर्माण गरिनेछ ।
सिधनियाघाटमा हालै आयोजित कार्यक्रममा भएको छलफलमा पुल तथा तटबन्ध निर्माणसँग त्यस सम्बन्धित अन्य पूर्वाधार निर्माणलाई अघि बढाइनुपर्नेमा जोड दिँदै सरोकारवालाले निर्माणाधीन पुलले यस क्षेत्रको आवागमनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।