भदौ २६, २०८३ शुक्रबार

काठमाडौँ, २६ भदौः लामो समयपछि गोकर्णेश्वर महादेव मन्दिरमा पितृ सम्मान गर्न आएका भक्तजनले सहज रूपमा वाग्मती तटस्थित नदीकिनारमा पुगेर दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने अवसर पाएका छन् । यस वर्ष नेपाल ट्रष्टको जग्गा छेउको पर्खाल भत्काएर बाटो फराकिलो बनाएपछि माकालबारीतिरको सडकबाट धेरै भक्तजन जान पाएकाले सहज रूपमा पितृ सम्मान गर्ने अवसर प्राप्त भएको आगन्तुहरूको भनाइ छ ।

    प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने पितृ सम्मान मेलाका लागि आएका भक्तजनलाई सहज भएको हो । काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेको अग्रसरतामा नेपाल ट्रष्टको जग्गा छेउको पर्खाल भत्काइएको हो ।

    यो पर्खाल पछाडि सारेर यहाँबाट दक्षिणढोका निस्कने बाटो खुलाउन गोकर्णेश्वर नगरपालिकाका निर्वाचित नगरप्रमुख सन्तोष चालिसेको पालादेखि माग हुँदै आएको थियो । लामो समयदेखिको मागपछि पनि पर्खाल नभत्किएका कारण प्रत्येक वर्ष भाद्रपद कृष्ण पक्षको औँसीमा लाग्ने गोकर्णेश्वरको पितृ सम्मान मेलामा अप्ठ्यारो हुने गरेको थियो ।  यो पर्खाल भत्काएपछि यस वर्ष गोकर्णेश्वर मेला सहज रूपमा व्यवस्थापन गर्न सकिएको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । 

    बाबुको मुख हेर्ने दिनका रूपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा श्रद्धापूर्वक तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । यसैअनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा आज लाखौँ भक्तजन पितृप्रति सम्मान प्रकट गर्न आएका हुन् । मेलाका लागि लागि बुधबारदेखि तयारी गरिएको थियो ।
  
    उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सिन्धुलीबाट आउनुभएका रामचन्द्र बरालले विगत वर्षमा भन्दा यस वर्ष मन्दिर क्षेत्र प्रवेश गर्न सहज भएको बताउनुभयो । बाटो फराकिलो भए पनि माटो नपन्छाएका कारण हिलोले गर्दा भने समस्या भएको उहाँले बताउनुभयो ।

    गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको लाम लागेको छ । मेलाका लागि आज नेपाल मेडिकल कलेज र माकालबारी सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकी मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको थियो ।