भदौ २६, २०८३ शनिबार

काठमाडौँ, २६ भदौः यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएका बाढीका कारण प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम सङ्कलन भइरहेको छ । विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकाय, सङ्घसंस्था, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, स्थानीयलगायतले रकम सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिरहेका छन् ।

    मनहरी गाउँपालिकाद्वारा रु ४१ लाख ८७ हजार सहयोग

    मकवानपुरको मनहरी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री राहत कोषमा रु ४१ लाख ८७ हजार २६३ जम्मा गरेको छ ।

    बाढीबाट प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाको विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय सहजकर्ता तथा स्थानीय सामुदायिक वन उपभोक्ता समितिबाट उक्त रकम सङ्कलन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

    उहाँका अनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु १० लाख, शिक्षकहरूबाट रु १५ लाख ३२ हजार १२९, कर्मचारीहरूबाट रु नौ लाख ४२ हजार ७०३ र जनप्रतिनिधिबाट रु छ लाख १३ हजार ३०५ सङ्कलन गरिएको हो ।

    त्यसैगरी मनकामना सामुदायिक वन उपभोक्ता समिति, मनहरीबाट रु ५१ हजार तथा विद्यालय सहजकर्ता र कर्मचारीबाट रु ४८ हजार १२६ सङ्कलन गरिएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताउनुभयो ।

    गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार सङ्घीय सरकारले बाढी प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणका लागि सहयोग गर्न गरेको आह्वानअनुसार संस्थागत तथा व्यक्तिगत रूपमा रकम सङ्कलन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राहत कोषमा जम्मा गरिएको हो ।

    कांग्रेस सुदूरपश्चिम संसदीय दलद्वारा तीन लाख ६१ हजार सहयोग

    नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितका लागि आर्थिक सहायता रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । संसदीय दलले आज रु तीन लाख ६१ हजार ६६७ रकम कोषमा जम्मा गरेको हो । 

    संसदीय दलका नेता कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम सहयोग गर्नुभएको छ । त्यस्तै, संसदीय दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिक बराबरको रकम सहयोगस्वरूप उपलब्ध गराउनुभयो । 

    यसैबीच, आज संसदीय दलका नेता शाहको अध्यक्षतामा बसेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । बैठकले बाढी तथा विपद्का कारण प्रभावित परिवारप्रति गहिरो दुःख तथा समवेदना प्रकट गर्दै पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिन सम्बन्धित निकाय तथा सबै पक्षलाई आग्रह गरेको छ ।