झापा, २८ भदौः जिल्ला प्रशासन कार्यालय झापाले ‘पालो आवेदन शून्यमा झार्ने’ अभियानअन्तर्गत सार्वजनिक बिदाका दिनसमेत राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा प्रदान गर्ने भएको छ ।
अनलाइन आवेदन फाराम भरेर बायोमेट्रिक र अन्य प्रक्रियाका लागि पालो पर्खिरहेका सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले आगामी असोज १५ गतेसम्म ‘शून्य बाँकी आवेदन अभियान’ सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।
अभियानअन्तर्गत कार्यालयले दैनिक बिहान ७ः०० साँझ ६ः०० बजेसम्म सेवा प्रदान गर्ने र सार्वजनिक बिदामा समेत सेवा प्रवाह नरोकिने जनाएको छ । हाल कार्यालयमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवा लिने सेवाग्राहीको चाप छ । पालो पर्खिरहेका आवेदक शून्य बनाउने अभियानको लक्ष्य रहेको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै अनलाइन आवेदन गरी पालो पर्खिरहेका सम्पूर्ण सेवाग्राहीलाई आवश्यक सक्कल कागजातसहित अभियान अवधिमा कार्यालयमा आएर सेवा लिन आग्रह गरेको छ ।
–––