काठमाडौँ, ३० भदौः विपद् जोखिम न्यूनीकरण तथा पुनःलाभका क्षेत्रमा श्रम, सीप र रोजगारीलाई प्रभावकारी रूपमा जोड्ने उद्देश्यले युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव एवं युवा महाशाखा प्रमुख हेमराज तामाङको अध्यक्षतामा गठित प्राविधिक समन्वय समितिको बैठक आज विकास साझेदारको सहभागितामा सम्पन्न भएको छ ।
बैठकमा भोटेकोशी–त्रिशूली करिडोरअन्तर्गतका बाढी प्रभावित स्थानीय तहमा रोजगार केन्द्रित प्रारम्भिक पुनःलाभ, युवा परिचालन तथा पुनःस्थापना कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल भएको छ । विपद्पश्चात् प्रभावित नागरिकलाई शीघ्र पुनःलाभमा सहयोग पु¥याउन द्रुत रोजगार सहायता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।
यसअन्तर्गत स्थानीय सार्वजनिक निर्माण, क्षतिग्रस्त पूर्वाधारको मर्मत तथा पुनःस्थापना, सरसफाइ तथा पुनर्निर्माणका साथै आवश्यकतामा आधारित सीपमूलक तालिम र सीप प्रमाणीकरणका अवसरमा विपद् प्रभावित व्यक्ति तथा परिवारलाई प्राथमिकता दिइनेछ । यसबाट प्रभावित समुदायलाई तत्काल आम्दानीको अवसर उपलब्ध गराउनुका साथै पुनर्निर्माणका लागि आवश्यक दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हालका लागि रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित नागरिकलाई केन्द्रमा राखी रोजगार केन्द्रित पुनःलाभ रणनीति तथा कार्य योजना तयार गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको तत्काल पुनःलाभसँगै स्थानीयस्तरमा दिगो रोजगारी सिर्जना, युवा परिचालन, सीप विकास, पुनर्निर्माण तथा जीविकोपार्जन पुनःस्थापनालाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य राखिएको छ ।