मंसिर ५, २०७८ आइतबार

मुगु । जिल्लाको सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले गाउँपालिकाको आर्थिक वर्ष ०७७/०७८ को बजेटको विभिन्न शीर्षकमा विनियोजित रकम प्रमुख प्रशासकीय अधिकृतले नियमविपरीत बाँडेको र जसका कारण अहिले गाउँपालिकाको बैंक खाता शून्य भएको दाबी गरेका छन् ।     

शिक्षा शाखा प्रमुख वीरेन्द्रबहादुर मल्ल सोरु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा गाउँपालिको रकम  हिनामिना गरेको अध्यक्ष शाहीको आरोप छ । अध्यक्ष शाहीका अनुसार कार्यकारीले आर्थिक वर्ष ०७७/०७८ मा प्राप्त सशर्त अनुदान रकम (एक करोड  ७८ लाख तीन सय २९ रुपैयाँ) तोकिएको क्षेत्रभन्दा अन्य क्षेत्रमा खर्च गरेकाले गाउँपालिकामा कार्यरत अस्थाइ कर्मचारीले १८ र स्थाई कर्मचारी तीन महिनादेखि तलबसमेत पाएका छैनन् । 

साथै, कोभिड नियन्त्रणका लागि विनियोजित एक करोड रुपैयाँको खर्च विवरण समेत सार्वजनिक नभएको, सामाजिक सुरक्षा भत्ता पनि वितरण नगरेको अध्यक्ष शाहीको आरोप छ ।

कर्णाली प्रदेश सरकारबाट मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालित योजनाहरूको लागत अनुमान अनुसारको कुनै पनि योजना सम्पन्न नगरी पूर्ण रकम भुक्तानी गरेको, विभिन्न योजना तथा कार्यक्रममा उठेको ७० लाख कन्टिजेन्सी रकम कार्यपालिका बोर्ड बैठकको निर्णय, विधि तथा मापदण्ड विपरित दुरुपयोग गरेको प्रचलित कानुनविपरित विभिन्न व्यक्तिहरूलाई करिब दुई करोड ६० लाख पेस्की दिइ सो रकम फर्छ्यौटतर्फ कुनै पहल र प्रकृया सुरू नगरी गाउँपालिकालाई दीर्घकालीन दायित्व सिर्जना हुने गरी खरिद गरेको उनको भनाइ छ ।

एकातिर निर्वाचित जनप्रतिनिधिले पाउनु पर्ने सेवा सुविधा २४ लाख रुपैयाँ जनप्रतिनिधिले नपाएको विभिन्न पुराना योजनाका दुई करोड पाँच लाख रुपैयाँ भुक्तानी  हालसम्म नभएको र गाउँपालिकाका सबै खाता शून्य रहेको उनले बताए । अहिले खातामा जम्मा ५२ रुपैयाँ मौज्दात रहेको उनको भनाइ छ ।

मल्लले गाउँपालिकाको रकम नियमविपरीत हिनामिना गरेको भन्दै तत्काल आवश्यक छानबिन तथा कारवाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सामान्य प्रशासन मन्त्रालयमा लिखित पत्राचार गरिसकेको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिए । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रबहादुर मल्लले आफू कार्यकारी पदमा रहँदा गाउँपालिकाबाट भएका सबै खाले गतिविधि नियम, कार्यआदेशलगायत गाउँपालिका बैठकको निर्णयअनुसार भुक्तानी तथा खर्च गरेको बताए । जतिबेला आर्थिक समस्या परेको हुन्छ त्यतिबेला गाउँपालिकाका कर्मचारीलाई आरोप लगाईं दुःख दिने काम गरेको उनको भनाइ छ । नियमविपरीत कुनै खाले आर्थिक हिनामिना आफूबाट नभएको उनले बताए ।