मंसिर ६, २०७८ सोमबार

विभिन्न देशबाट नेपाल आइ अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई पछिल्ला आठ वर्षमा सरकारले निष्कासन गरेको अध्यागमन विभागले जनाएको छ । तथ्याङ्कअनुसार सो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ। त्यसैगरी २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बङ्गलादेशी,१ सय ४ बेलायती र ७४ पाकिस्तानी नागरिकलाई आफ्नो देशमा पठाइएको छ।

त्यसैगरी ८५ रसियाली,५२ इरानी, ४७ क्यानाडेली, ४६ जर्मनेली र ३६ फ्रान्सेली नागरिक पनि नेपालबाट निष्कासित भएका छन्।विभिन्न अपराधमा संलग्न भएका, भिसाको म्याद गुज्रिसकेका(ओभरस्टे) र शंकास्पद राहदानी राखेका कारण उनीहरूलाई नेपालबाट निकालिएको अध्यागमन विभागले जनाएको छ।

विभागको तथ्याङ्कअनुसार यस वर्ष १ सय ४१ विदेशीलाई नेपालबाट निष्कासन गरिएको छ। त्यसमा सबैभन्दा धेरै चिनियाँ र अन्यमा अमेरिकी, बेलायती, जर्मनेली र फ्रान्सेली नागरिक रहेको जनाइएको छ । विभिन्न अपराधमा संलग्न तथा भिसासम्बन्धी समस्या भएका २ हजार ९ सय ८९ विदेशी नागरिकलाई उनीहरूकै देशमा फर्काएको छ।

गत वर्ष विभिन्न अपराधमा संलग्न ७ सय ३३ विदेशी नागरिक पक्राउ परेका थिए।

 सामाजिक अपराधअन्तर्गत सार्वजनिक हित स्वास्थ्य,सुरक्षा र सुविधाविरुद्धको कसुरमा २ सय ६३, सामाजिक शान्तिविरुद्धको कसुरमा ६६, चोरीमा ६१, बैंकिङ कसुरमा २० र जबर्जस्ती करणीमा १९ विदेशी पक्राउ परेका थिए।

कारागार व्यवस्थापन विभागको तथ्याङ्कअनुसार हालसम्म देशभरका १ हजार ३ सय १५ जना विदेशी कैदी छन् ।