सङ्खुवासभा, ३१ भदौः मकालु बरुण राष्ट्रिय निकुञ्ज, सङ्खुवासभामा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ ।
उक्त स्थान कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । आर्थिक वर्ष २०८२÷२०८३ मा दुई हजार एक सय ८८ विदेशी र तीन हजार दुई सय २७ नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।
निकुञ्जका सूचना अधिकारी संस्कार सुवेदीका अनुसार एक वर्षमा पाँच हजार २७६ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । जसमा ८१९ महिला र दुई हजार ४०८ पुरुष नेपाली पर्यटक छन् । एक हजार ५३३ पुरुष र ६५५ महिलासहित दुई हजार १८८ विदेशीले निकुञ्ज भ्रमण गरेका छन् ।
आर्थिक वर्ष २०८१÷२०८२ मा ८६५ नेपाली, सार्क राष्ट्रबाट १४८ र अन्य मुलुकबाट एक हजार ४४२ जना भ्रमण गरेका थिए । वन्यजन्तु अवलोकन सहज हुने भएकाले वैशाख, असोज र कात्तिकमा पर्यटकको चाप बढी हुने गरेको छ । करिब दुई हजार तीन सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको मकालु बरुण राष्ट्रिय निकुञ्ज सङ्खुवासभा र सोलुखुम्बु जिल्लासम्म फैलिएको छ ।
निकुञ्ज क्षेत्रमा विश्वकै पाँचै अग्लो मकालु हिमाल, विश्वकै होचो अरुण उपत्यका, मेरा पिक, चाम्लाङ हिमाल, शिवधारा, बरुण दोभान, पाँचपोखरी, ख्याम्पालुङ गुफा, तोतोपानी मुहान हटिया, साल्दीमा भ्याली, हिउँ चितुवा, हाब्रे (रेडपाण्डा), कस्तुरी मृग, डाँफे, मुनाल, सालक, २५ प्रजातिका गुराँस, ३१५ प्रजातिका पुतली, घोरललगायत विभिन्न प्रजातिका वन्यजन्तु पाइन्छ ।
निकुञ्ज पन्छीप्रेमीका लागि आकर्षक गन्तव्य हो । यहाँ ४३३ भन्दा बढी प्रजातिका चराचुरुङ्गी अभिलेख गरिएका छन् । ठूला पाँखरी, झरना, घाँसेमैदान, वन्यजन्तु अवलोकन तथा प्राकृतिक पदमार्ग पर्यटकका मुख्य आकर्षण हुन् ।
प्राकृतिक सम्पदा, जैविक विविधता र हिमाल आरोहण अनुपम गन्तव्यका रूपमा मकालु राष्ट्रिय निकुञ्ज स्थापित हुँदै गएको छ । मध्यवर्ती क्षेत्रमा ६९ वटा होमस्टे सञ्चालनमा छन् । मकालु बरुण राष्ट्रिय निकुञ्ज कार्यालयले एक वर्षमा ९० लाख पाँचहजार रु १९१ राजस्व सङ्कलन गरेको छ ।
निकुञ्ज कार्यालयले एक वर्षको अवधिमा प्रवेश शुल्क, वन पैदावार, पथ प्रदर्शक शुल्क, हेलिकप्टर अवतरण शुल्क,न्यायीक दण्ड जरिवानालगायतबाट उक्त राजस्व सङ्कलन भएको हो । निकुञ्जका सूचना अधिकारी सुवेदीले यहाँ पर्यटकको आगमन बढ्दै गएसँगै स्थानीयस्तरमा पर्यटन व्यवसाय, होटल तथा होमस्टे, यातायात र रोजगारीका अवसरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको जानकारी दिनुभयो ।
पर्यटकको बढ्दो आगमनलाई व्यवस्थित गर्दै पदमार्ग, सूचना केन्द्र, आवास तथा अन्य पर्यटन पूर्वाधारको विकास गर्न सके यस क्षेत्रको पर्यटनबाट स्थानीय अर्थतन्त्रमा थप योगदान पुग्ने विश्वास गरिएको छ ।