मंसिर ६, २०७८ सोमबार

साङ्केतिक तस्बिर

काठमाडौँ, मङ्सिर ६ गते । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलहरू महाधिवेशनमा होमिएका छन् । राजनीतिक दलको महाधिवेशनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षा जनशक्ति परिचालन गरिएको छ । चितवनमा सुरु हुने एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि सुरक्षा योजना तयार भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रकाशजङ्ग कार्कीले शुक्रबार १० गतेबाट सुरु हुने एमाले महाधिवेशनका लागि सुरक्षा योजना बनाउने काम अन्तिम चरणमा रहेको बताए।
चितवन जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) ओम अधिकारीको नेतृत्वमा प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग लगायतका गरी करिब एक हजार सुरक्षाकर्मी परिचलन हुने छन् । महाधिवेशनलाई सुरक्षित र व्यवस्थित बनाउन उद्घाटनको अघिल्लो दिनदेखि सुरक्षाकर्मी पूर्ण रूपमा परिचालन हुने छन् ।
चितवनको नारायणगढ, भरतपुर, सौराहा, टाँडी र पूर्वी नवलपरासीको गैँडाकोट बजार क्षेत्रलाई उच्च सुरक्षा निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

त्यस्तै यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा आयोजना हुने काँग्रेसको १४औँ महाधिवेशन र मङ्सिर १५ देखि १७ गतेसम्म आयोजना हुने राप्रपाको राष्ट्रिय एकता महाधिवेशनका लागि पनि महानगरीय प्रहरीले आवश्यक सुरक्षा व्यवस्थाको तयारी गरेको छ ।