मंसिर ६, २०७८ सोमबार

दमक, मङ्सिर ६ गते । झापामा एक निर्माण व्यवसायीले निर्माणको सम्झौता गरेको भन्दा झण्डै एक वर्षअघि नै निर्माणको जिम्मा लिएको काम सम्पन्न गरेको पाइएको छ ।

झापाको हल्दिबारी गाउँपालिका वडा नं.३ मा मेनर्जी चोकबाट उत्तर कन्टरघुटु हुँदै रामहरि चोक जाने बाटो कालोपत्रे निर्धारित समयभन्दा झण्डै एक वर्षअघि नै सकिएको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताए । गाउँपालिका, प्रदेश सरकार, संघीय सरकारको संयुक्त लगानीमा चार हजार दुई सय मिटर सडक कालोपत्रे चाँडो सकिएको हो ।

खनाल इभरग्रीन जेभी बिर्तामोडले २०७७ चैत २२ गते गाउँपालिकासँग निर्माण सम्झौता गरेको र उक्त सम्झौतामा २०७९ असाेज ६ गते निर्माण सम्पन्न गर्ने उल्लेख रहेकामा यही साता काम सकेको गिरीले बताए । दुई करोड ९६ लाख ७१ हजार लागतमा निर्माण सम्झौता भएको थियो ।

समयावधि भन्दा करिब ११ महिना अघि काम सम्पन्न गरेर गाउँपालिकालाई जिम्मा दिने अवस्थामा पुर्याएको खनाल इभरग्रीन जे भि का सञ्चालक भरत भट्टराईले बताए ।