भोजपुर, १ असोजः भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको छ ।
ऐतिहासिक महत्व बोकेको यो क्षेत्रको संरक्षणसँगै पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पूर्वाधार निर्माणको काम अघि बढाइएको हो ।
पर्यटकको सुविधाका लागि रेलिङ (बारा)सहितको पदमार्ग, विश्रामस्थललगायतका आवश्यक संरचना निर्माण गरिएको वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार यहाँ आउने आगन्तुकलाई लक्षित गरेर वडा कार्यालयको तर्फबाट आधुनिक शौचालय निर्माण गर्ने लक्ष्यसमेत राखिएको छ ।
स्थानीयस्तरमा रहेका ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।
ऐतिहासिक महत्व बोकेको दुङमागढीको विकास तथा संरक्षणमा जोड दिइएको अध्यक्ष राईको भनाइ छ ।
“दुङमागढी एउटा ऐतिहासिकस्थल हो,” अध्यक्ष राईले भन्नुभयो, “यो हाम्रो गाउँपालिकाको पहिचान पनि हो । यसको संरक्षणसँगै पर्यटनसँग जोड्ने लक्ष्य स्थानीय सरकारले लिएको छ ।”
यस्तै, गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले पर्यटकीय सम्भावना बोकेका ठाउँको पहिचान र पूर्वाधार विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
दुङमागढीमा धेरै पर्यटकीय सम्भावना रहेकाले यसको प्रचारप्रसारमासमेत ध्यान दिइएको उहाँले जानकारी दिनुभयो ।
“दुङमागढीमा पर्यटकको आगमन बढाउन सकिए स्थानीयस्तरमा रोजगार सिर्जनासँगै गाउँको आर्थिक गतिविधिमा टेवा पुग्ने देखिन्छ,” उपाध्यक्ष राईले भन्नुभयो, “त्यसैले यो क्षेत्रको विकासका लागि न्यूनतम पूर्वाधार निर्माणका साथै प्रचारप्रसारलाई पनि तीव्रता दिएको छौँ ।”
प्राकृतिक सुन्दरताले भरिपूर्ण दुङमागढी क्षेत्रमा पछिल्लो समय वनभोज खान र मनोरम दृश्यावलोकन गर्नका लागि मानिसको उपस्थिति बढ्दै गएको छ ।
पूर्वाधार निर्माण भएसँगै यस क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरिरहेको स्थानीयको भनाइ छ । यस स्थानबाट देखिने सुन्दर हिमशृङ्खलासँगै समथर फाँटले आगन्तुकको मन लोभ्याउने गरेको छ ।