असोज १, २०८३ बिहिबार

ललितपुर, १ असोजः जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले सरकारी स्वास्थ संस्थाले स्वास्थ्य सेवामा ‘पहिला उपचार, त्यसपछि भुक्तानी’ प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । 

    जनस्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा समन्वय प्रमुख फुयाँलले पर्याप्त रकम नहुँदा उपचारका क्रममा नागरिकले हैरानी व्यहोर्नु परेको र अस्पतालबाट बाहिरिनु परेको घटनालाई उल्लेख गर्दै आवश्यक रकम तत्काल जुटाउन नसक्दा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न ‘पहिला उपचार, त्यसपछि पैसाको व्यवस्था’ हुने प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

    “उपचार खर्च जुटाउन नसकेर रोग पालेर घरमै बस्न बाध्य नागरिक पनि धेरै छन्, उपचारका क्रममा घरजग्गा बेचेर आर्थिक रूपमा विपन्न बनेका नागरिकको हितमा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यक छ । प्रणाली बनाउने काम सरकारको हो, यस विषयमा सङ्घीय सरकारलाई पनि आवश्यक सुझाव दिन्छौँ, प्रदेश सरकारले पनि ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

    ललितपुर जिल्लाका तीन वटा गाउँपालिका भौगोलिक तथा स्वास्थ्य सेवाका दृष्टिले विकट अवस्थामा रहेका उल्लेख गर्दै समन्वय प्रमुख फुयाँलले ती क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रदेश सरकारको थप सहयोग आवश्यक रहेको बताउनुभयो ।

    बिरामीको सङ्ख्या तुलनात्मक रूपमा कम भए पनि दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक उपकरण तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । स्थानीय सरकारको आफ्नै आम्दानी तथा स्रोतबाट मात्र आवश्यक स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्न कठिन हुने भएकाले प्रदेश सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

    निजी क्षेत्रबाट लगानी गरी अस्पताल स्थापना गरेर नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका स्वास्थ्य संस्थाप्रति आभार व्यक्त गर्दै समन्वय प्रमुख फुयाँलले नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध हुने गरी आवश्यक विधि, प्रक्रिया र नीतिगत व्यवस्था निर्माणमा प्रदेश तहबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सहरमा केन्द्रित ठूला अस्पतालमा पनि आफ्नै प्रकारका समस्या रहेका उल्लेख गर्दै उहाँले पाटन अस्पतालमा देशका विभिन्न स्थानबाट आउने बिरामीको चाप धान्न कठिन भइरहेको बताउनुभयो । 

    बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सचिव डा सुमित्रा गौतमले स्वास्थ्य सेवालाई तीनै तहका सरकारले पहिलो प्राथमिकतामा राखिनुपर्नेमा जोड दिँदै स्वास्थ्य सेवाको मूल मर्मअनुसार काम गरिनुपर्ने धारणा राख्नुभयो ।

    उहाँले ललितपुर महनगरपालिकालाई स्वस्थ्य नगरका रूपमा घोषणा गर्ने तयारी बागमती प्रदेशले गरिरहेको जानकारी गराउँदै बागमती प्रदेशमा स्वास्थ्यका सबै सेवा पूर्ण डिजिटलाइजेसनमा गइसकेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थाहरूको नियमन गर्ने विषयलाई जोड दिएका छौँ । स्वास्थ्य संस्थाको नियम सङ्गत अनुगमनका क्रममा पनि राजनीतिक दबाब झेल्नुपर्ने अवस्था सृजना नगर्न आग्रह गर्दछौँ ।”

    ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले स्वास्थ्य बिमा नगरेका व्यक्तिले पनि गम्भीर किसिमको रोग लागेको अवस्थामा उपचार गर्न पाउने कल्याणकारी प्रणाली व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य सेवामा भएका प्रणाली र कानुन कार्यविधिलाई सुधार गर्न सकिने ठाउँमा सुधार गर्नुपर्ने भन्दै यसका लागि सबैको साथ र सहयोगको आवश्यकता औँल्याउनुभयो ।

    जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा जिल्लावासीलाई कसरी गुणस्तरीय स्वास्थ सेवा दिन सक्छौँ भन्ने विषयमा छलफल गरिरहेको बताउनुभयो । भन्दै छलफलमा उठेका विषयहरू आगामी वर्षको योजनामा समावेश गरेर काम गर्ने  प्रतिबद्धता जनाउनुभयो ।