असोज २, २०८३ शुक्रबार

    पाल्पा, २ असोजः पाल्पा कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि रु ८३ हजार सहयोग उपलब्ध गराएका छन् । कारागारमा रहेका कैदीबन्दीले आफ्नो क्षमताअनुसार रकम सङ्कलन गरी बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरेका हुन् ।

    हाल पाल्पा कारागारमा २२४ पुरुष र १३ महिला गरी २३७ कैदीबन्दी छन् । सङ्कलित रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको कारागारका प्रशासक भगवानभक्त अर्यालले जानकारी दिनुभयो । कैदीबन्दीले कारागारभित्र उद्यमशिलताका काम गर्दै आएको र त्यहीबाट आर्जन गरेको केही रकमबाट बाढीपीडितलाई सहयोग गरेका उहाँले बताउनुभयो ।  

    ‘हामी जहाँ भए पनि समाजकै सदस्य हौँ’ भन्ने भावनाका साथ कैदीबन्दीले रकम सङ्कलन गरेका अर्यालले बताउनुभयो । “उनीहरूको सहयोगको आकार ठूलो नहुन सक्छ, तर विपद्का बेला पीडितप्रति देखाएको मानवीय समवेदना भने अर्थपूर्ण छ”, उहाँले भन्नुभयो । कारागारभित्र कैदीबन्दीले मुढा बनाउने, सिलाइँबुनाइ, डोको नाम्लो बनाउने, बात्ती बनाउनेलगायत सीपमूलक काम गर्दै आएका छन् । 

    त्यस्तै, तनहुँका नेपाल मगर सङ्घ भिमाद र ढोर फिरफिरे तमु समाजले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेका हुन् । 

    नेपाल मगर सङ्घ भिमादले रु एक लाख ९५ हजार सहयोग गरेको छ । सङ्घका अध्यक्ष ज्ञानबहादुर थापाले समितिका सदस्यबाट रकम सङ्कलन गरी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जानकारी दिनुभयो ।

    त्यसैगरी ढोर फिरफिरे तमु समाजले रु एक लाख ५६ हजार ५१५ सहयोग गरेको छ । समाजका अध्यक्ष नन्दलाल गुरुङका अनुसार समाजका सदस्यबाट स्वेच्छिक रूपमा रकम सङ्कलन गरिएको थियो ।