मंसिर ९, २०७८ बिहिबार

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त म्याग्डलेना यान्डरसनले केही घण्टामै राजीनामा दिनुभएको छ ।

यान्डरसन हिजो प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर उहाँको गठबन्धन सरकारको साझेदार दल ग्रीन्सले समर्थन फिर्ता लिएपछि राजीनामा दिनुभएको हो । यान्डरसनले राजीनामा दिएपछि स्वीडेनमा बजेट पारित हुन सकेको छैन ।

ग्रीन्सले उग्र दक्षिणपन्थीसँग मस्यौदा गरिएको बजेट स्वीकार गर्न नसकेको जनाएको छ । यान्डरसनले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिस गर्ने बताउनुभएको छ । स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीया सोसियल डेमोक्र्याट नेता यान्डरसन नियुक्त हुनुभएको थियो ।

संसद्का ३४९ जना सांसद् मध्ये १७४ ले उहाँको विपक्षमा मत खसालेका थिए । उहाँलाई समर्थन गर्ने ११७ सांसदसहित थप ५७ जना तटस्थ रहेका थिए ।