हुम्ला, ३ असोजः कर्मफ्लाइट्स फाउण्डेशनले हुम्लाका एक हजार ५५० विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएको छ । जिल्लाका १७ विद्यालयका विद्यार्थीलाई वितरण गर्ने गरी उक्त कपडा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीलाई शुक्रबार हस्तान्तरण गरिएको हो ।
बालबालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका एक हजार ५५० विद्यार्थीका लागि ज्याकेट, जुत्ता, मोजालगायत उपलब्ध गराउने सम्झौताअनुसार उक्त सामग्री हस्तान्तरण गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।
“एक कार्यक्रमकाबीच उक्त सामग्री फाउण्डेशनले पालिकालाई हस्तान्तरण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ”, भण्डारीले भन्नुभयो, “अब सबै सामग्री जिल्लामा लिएर हामीले १७ वटा विद्यालयका विद्यार्थीलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउँछौँ ।” हिउँदे मौसम सुरु हुन लाग्दा यी सामग्रीले विद्यार्थीलाई निकै प्रभावकारी र उपलब्धिमूलक हुने उहाँको भनाइ छ ।
फाउण्डेशनले शिक्षा तथा प्रविधिको क्षेत्रमा समेत सिमकोट गाउँपालिकासँग सहकार्य गर्दै आएको छ । यस वर्ष थप विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने योजना रहेको पनि अध्यक्ष भण्डारीले बताउनुभयो । न्यानो कपडा तथा कम्प्युटर ल्याब स्थापनासहितका कार्यक्रमका लागि करिब रु ६० लाख खर्च हुने अनुमान गरिएको छ ।