असोज ३, २०८३ शनिबार

कर्णाली, ३ असोजः कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन आग्रह गर्दै यस क्षेत्रको विकासबिना मुलुकको पूर्ण विकास सम्भव नहुने बताउनुभएको छ ।

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको ११औँ संविधान तथा राष्ट्रिय एकता दिवस समारोहमा उहाँले  नेपाली जनतालाई संविधानले अधिकारसम्पन्न बनाएको बताउँदै संविधानले सङ्घीयता, समावेशिता, सामाजिक न्याय र समानुपातिकतालाई केन्द्रमा राखेको सुनाउनुभयो । 

प्रदेश प्रमुख जोशीले संविधानको अक्षरशः पालना र प्रभावकारी कार्यान्वयनका लागि राज्यका सबै अङ्गको सक्रियता आवश्यक छ भन्नुभयो । 

मुख्यमन्त्री मङ्गलबहादुर शाहीले नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट जारी भएको संविधानले नागरिकका सम्पूर्ण अधिकार सुनिश्चित गरेको बताउनुभयो । संविधानको संस्थागत विकासका लागि सबैको हातेमालो आवश्यक रहेको उल्लेख गर्दै उहाँले नागरिकलाई राज्यको अनुभूति गराउन तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व अपरिहार्य रहेको बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नेपालको संविधानले सबै जाति, वर्ग, धर्म, लिङ्ग र भाषाका नागरिकलाई समेटेको बताउनुभयो। संविधानले नागरिकका अधिकार सुनिश्चित गर्नुका साथै कर्तव्यप्रति पनि सचेत गराएको उहाँले उल्लेख गर्नुभयो ।