असोज ३, २०८३ शनिबार

बागमती, ३ असोजः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले संविधानको प्रभावकारी कार्यान्वयनसँगै नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।

संविधान दिवसका अवसरमा बागमती प्रदेश सरकारले आज हेटौँडामा आयोजना गरेको विशेष समारोहमा उहाँले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

प्रदेशलाई संविधानले प्रदान गरेका अधिकारको कार्यान्वयन, आवश्यक कानुन निर्माण तथा पर्याप्त स्रोत र जनशक्तिको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । प्रदेश सरकार नागरिकको अपेक्षाअनुसार जिम्मेवार, पारदर्शी र परिणाममुखी रूपमा अघि बढ्न प्रतिबद्ध रहेको मुख्यमन्त्री थापामगरले बताउनुभयो ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षित बसोबास, अत्यावश्यक सेवा सञ्चालन, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा पीडितको जीविकोपार्जनका लागि सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्लाभका कामलाई प्राथमिकताका साथ अघि बढाइने उहाँको कथन थियो ।