असोज ३, २०८३ शनिबार

ब्रसेल्स, ३ असोज : वासिङटनले दोस्रो वर्ष पनि संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन चाहने प्यालेस्टिनी अधिकारीहरूलाई भिसा अस्वीकार गरेको निर्णयप्रति खेद व्यक्त गर्दै पुनर्विचार गर्न युरोपेली सङ्घले शनिबार आग्रह गरेको छ । 

अमेरिकी विदेश विभागले यस हप्ता न्यूयोर्कमा अर्को हप्ता हुने बैठकअघि प्यालेस्टिनी नेता महमूद अब्बास र उहाँको प्रतिनिधिमण्डलका अन्य सदस्यहरूलाई भिसा नदिने बताएको थियो ।

“हामी प्यालेस्टिनी प्रतिनिधिमण्डलका सदस्यहरूलाई लगातार दोस्रो वर्ष प्रवेश भिसा अस्वीकार गर्ने निर्णयप्रति खेद व्यक्त गर्दछौँ,” ईयूको कूटनीतिक सेवाका प्रवक्ता अनोवार एल अनौनीले भन्नुभयो । 

“संयुक्त राष्ट्रसङ्घसँग रहेका विद्यमान मुख्यालय सम्झौताहरू र आयोजक राष्ट्रको रूपमा रहेका दायित्वहरूका आधारमा हामी संयुक्त राज्य अमेरिकालाई यो निर्णय पुनर्विचार गर्न आग्रह गर्दछौँ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत वर्ष पनि प्यालेस्टिनी प्रतिनिधिमण्डललाई भिसा अस्वीकार गरेको थियो, जसका कारण संयुक्त राष्ट्रसङ्घको महासभाका नियमित सहभागी अब्बासले भिडियोमार्फत सम्बोधन गर्न बाध्य हुनुपरेको थियो । 

महासभाले बिहीबार १५२–३ मतले अब्बासलाई यस वर्ष फेरि भर्चुअली उपस्थित हुन अनुमति दिएको थियो ।

हालको अवस्थामा, मङ्गलबारदेखि सुरु हुने बैठकमा प्यालेस्टिनी नियोगका सदस्यहरू मात्र सहभागी हुन सक्नेछन् ।

शुक्रबार संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेर्रेसले पनि वासिङटनको निर्णयप्रति खेद व्यक्त गर्दै यसले ‘प्यालेस्टाइन राज्यलाई संयुक्त राष्ट्रसङ्घको काममा पूर्ण रूपमा सहभागी हुने क्षमतामा पार्ने प्रभाव’ प्रति चिन्ता व्यक्त गर्नुभयो । 

संयुक्त राज्य अमेरिका र इजरायलले प्यालेस्टिनी प्राधिकरणले कैद वा मारिएका प्यालेस्टिनीहरूका परिवारलाई (इजरायलीहरूविरुद्ध आक्रमण गर्नेहरूसमेत) ऐतिहासिक रूपमा भुक्तानी दिँदै आएकोमा आपत्ति जनाएका छन्।

प्यालेस्टिनी प्राधिकरणले हालै यो प्रणाली सुधार गरेर राजनीतिक आबद्धता वा कैदीको अवस्थाको सट्टा आवश्यकताका आधारमा परिवारहरूलाई कल्याणकारी भुक्तानी बाँड्ने व्यवस्था गरेको छ ।

विदेश विभागले वासिङटनले ‘इजरायली–प्यालेस्टिनी द्वन्द्वलाई अन्तर्राष्ट्रियकरण गर्ने कार्यहरूमा अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी) र अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) मार्फत एकपक्षीय मान्यता खोजेर वार्ता छल्ने प्रयास” लाई पनि विरोध गरेको बताएको छ ।

उनीहरूमाथि ‘आतङ्कवादीहरूलाई भत्ता दिइरहनु र सार्वजनिक घोषणा तथा विद्यालयका पाठ्यपुस्तकहरूमा आतङ्कवाद र आतङ्कवादीहरूको महिमामण्डन गरेको’ आरोप लगाइएको छ ।

अमेरिका गत वर्ष संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने १४२ सदस्य राष्ट्रहरूसँग मतभेदमा छ ।

अब्बासलाई अमेरिकी प्रवेश भिसा अस्वीकार गर्ने निर्णय वेस्ट बैङ्कमा इजरायली बस्तीवासीहरूद्वारा प्यालेस्टिनीहरूविरुद्ध हिंसा बढेको हालका महिनाहरूमा आएको हो ।