वासिङटन, ३ असोज : अमेरिकी समाचार माध्यम सीएनएन र एमएस नाउले उनीहरूलाई शनिबार ह्वाइट हाउस परिसरमा प्रवेश निषेध गरिएको बताएका छन् । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूलाई ‘झूटा समाचार’ रिपोर्ट गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको थियो ।
दुवै सञ्चारमाध्यमले यस कदमलाई अमेरिकी संविधानको उल्लङ्घन भन्दै निन्दा गरेका छन् र अमेरिकी सरकारबारे रिपोर्टिङ जारी राख्ने प्रतिबद्धता जनाएका छन् । दुवैले राष्ट्रपतीय निवासमा पहुँच पुनः प्राप्त गर्न अदालत जाने अपेक्षा गरिएको छ ।
“ह्वाइट हाउस अमेरिकी जनताको हो र त्यहाँ भित्र गरिने निर्णयहरू हाम्रो करको पैसाले वित्तपोषित हुन्छन्,” पहिले एमएसएनबीसीका रूपमा चिनिने एमएस नाउले एक्समा लेखेको छ।
सीएनएनले आफ्नो विज्ञप्तिमा भनेको छ, “हामीसँग अमेरिकी संविधानअन्तर्गत सरकारबाट कुनै बाधा वा हस्तक्षेप बिना रिपोर्टिङ गर्ने अधिकार छ र यो प्रतिबन्ध यस मौलिक अधिकारमाथि गैरकानुनी हमला हो।”
यसअघि अमेरिकी सञ्चारमाध्यम पोलिटिकोलाई पनि प्रतिबन्ध लगाइएको थियो तर त्यसबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
टिप्पणीका लागि सम्पर्क गर्दा ह्वाइट हाउस स्रोतले एएफपीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रतिबन्ध घोषणा गर्दा दिएका टिप्पणीतिर सङ्केत गर्यो।
मुख्यधारका मिडियासँग लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहेका ८० वर्षीय रिपब्लिकन पार्टीबाट राष्ट्रपति निर्वाचित नेता ट्रम्पले अन्य सञ्चारमाध्यमहरू पनि त्यस्तै अवस्थामा पर्न सक्ने चेतावनी दिनुभयो तर कुन–कुन हुन् भनेर बताउनुभएन ।
“म तत्काल प्रभावकारी हुने गरी गर्वका साथ घोषणा गर्छु, नक्कली समाचार सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउँदै छु । किनकि उनीहरूले लगातार ‘नक्कली समाचार’ रिपोर्ट गरिरहेका छन्,” राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ ।
उहाँले यस कदमको कारण के हो भनेर बताउनुभएको छैन तर अगाडि भन्नुहुन्छ, “मिडियाहरूले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिबारे रिपोर्ट गर्दा लगातार काल्पनिक कथा र झूट लेख्न वा रिपोर्ट गर्न पाउनु हुँदैन।”
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसका आफ्ना दुवै कार्यकालमा आफूलाई नचाहिने कभरेज दिने मिडियामाथि बारम्बार आक्रमण गरेका आरोप लाग्ने गरेको छ ।
उहाँले सञ्चारमाध्यमहरूविरुद्ध धेरै मानहानि मुद्दा दायर गर्नुभएको पनि छ र सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै प्रेस, धेरै पत्रकारहरू (विशेषगरी महिला) लाई मौखिक रूपमा अपमान गर्नुभएको छ, जसमा सीएनएनका कार्यक्रम प्रस्तोता काइटलन कोलिन्स पनि पर्नुहुन्छ ।
अमेरिकी राष्ट्रपतिहरूले सञ्चारमाध्यमलाई ह्वाइट हाउसबाट पूर्ण रूपमा प्रतिबन्ध लगाउनु दुर्लभ हो । यद्यपि राष्ट्रपति ट्रम्पले पहिलो कार्यकालमा सीएनएन पत्रकार जिम अकोस्टालाई प्रतिबन्ध लगाउनुभएको थियो, जसलाई अदालतले पछि उल्ट्याएको थियो।
नेता ट्रम्पले तोकेको ‘गल्फ अफ अमेरिका’ प्रयोग नगरी पूरानो चलनचल्तीको नाम ‘गल्फ अफ मेक्सिको’ शब्द प्रयोग जारी राखेको आरोपमा गत वर्ष राष्ट्रपति ट्रम्पले एसोसिएटेड प्रेस (एपी) लाई केही कार्यक्रममा प्रतिबन्ध लगाउनु भएको थिया ।
उहाँको प्रशासनले दोस्रो कार्यकालमा पत्रकारहरूमाथि कडा नियन्त्रण पनि लगाएको छ, जसमा ओभल अफिस र एयर फोर्स वनमा कभर गर्न पाउने ‘पूल’ मा कुन माध्यमहरूलाई प्रवेश दिने भन्ने कुरामा नियन्त्रण लिने काम समावेश छ।
ट्रम्पको शुक्रबारको आश्चर्यजनक घोषणा त्यस बेला आएको हो जब उहाँको अनुमोदन दर रेकर्ड न्यून स्तरमा छ र उहाँको रिपब्लिकन पार्टीले नोभेम्बरको मध्यावधि चुनावमा नियन्त्रणमा संसदका सीट गुमाउने जोखिममा छ ।
इरानसँगको युद्ध र बढ्दो मूल्यहरू उहाँको राजनीतिक पतनका कारकहरूमध्ये केही हुन् ।