असोज ५, २०८३ सोमबार

काठमाडौँ, ५ असोजः आज सेप्टेम्बर २१ अर्थात् विश्व अल्जाइमर्स दिवस । अल्जाइमर्स रोग तथा डिमेन्सियाका अन्य प्रकारबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘जति चाँडो थाहा पायौँ, त्यति धेरै गर्न सक्छौँः डिमेन्सियाको निदान महत्वपूर्ण छ’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाइँदैछ । 

    अल्जाइमर्स रोग डिमेन्सिया (स्मरणशक्ति, सोच्ने क्षमता, व्यवहार, र दैनिक क्रियाकलापमा ह्रास आउने) सबैभन्दा सामान्य प्रकारका रूपमा रहेको जनाउँदै वीर अस्पतालमा कार्यरत जेरियाट्रिक मेडिसिन विशेषज्ञ डा उमेश बोगटीले डिमेन्सिया भएमा स्मरणशक्ति, सोचाइ, निर्णय क्षमता, भाषा तथा दैनिक काम गर्ने क्षमतामा ह्रास आउने बताउनुभयो ।

    डिमेन्सियालाई बुढ्यौलीको सामान्य भागका रूपमा नलिई समयमा पहिचान तथा निदान गर्न आवश्यक रहेको विज्ञहरू बताउँछन् । समयमै डिमेन्सिया पहिचान हुँदा उपचार, हेरचाह, सुरक्षा तथा भविष्यको योजना बनाउन सहज हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक बिर्सने समस्या अल्जाइमर्स होइन र हरेक डिमेन्सिया पनि अल्जाइमर्स होइन ।” 

    डिप्रेसन, औषधिको असर, थाइराइडको समस्या, भिटामिनको कमी, निद्रासम्बन्धी समस्या, श्रवण वा दृष्टिसम्बन्धी समस्या तथा अन्य शारीरिक वा स्नायुसम्बन्धी रोगले पनि स्मरण तथा सोच्ने क्षमतामा असर गर्नसक्ने डा बोगटीले बताउनुभयो । उहाँका अनुसार उपचार गर्न सकिने यस्ता कारण समयमै पहिचान गर्नुपर्ने हुन्छ । 

    डिमेन्सिया पुष्टि भएमा पनि औषधि उपयुक्त तरिका बिरामीमा प्रयोग गर्नुका साथै उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धूम्रपान, शारीरिक निष्क्रियता, श्रवण समस्या तथा सामाजिक एक्लोपनलगायत जोखिमबाट बच्न सचेत हुन सकिने जेरियाट्रिक मेडिसिन विशेषज्ञ डा बोगटीले बताउनुभयो ।

    नेपालमा स्मरणशक्तिको समस्यालाई लामो समयसम्म ‘बुढेसकाल’का कारण भएको भन्दै सामान्य मान्ने प्रवृत्ति रहेको बताउँदै डा बोगटीले यसले डिमेन्सियाको निदान ढिलो हुने गरेको उल्लेख गर्नुभयो । परिवारले व्यवहारमा आएको परिवर्तनलाई जिद्दीपन वा बुढेसकालको बानीका रूपमा बुझ्ने तथा सामाजिक लाञ्छनाका कारण समस्या लुकाउने अवस्था रहेको उहाँको भनाइ छ ।

    यो रोग समयमै निदान हुँदा शारीरिक सक्रियता, सामाजिक सहभागिता, पोषण, निद्रालगायत गतिविधिमा सुधार गर्न सकिने भन्दै हरेक बिर्सने समस्यालाई उमेरको असर भन्दै बेवास्ता नगर्न र सामान्य बिर्सने समस्यालाई डिमेन्सिया भन्दै अनावश्यक डर सिर्जना नगर्न डा बोगटीले आग्रह गर्नुभयो । नेपालमा डिमेन्सियालाई उपचार गरिने एउटा रोगका रूपमा मात्र नभई बढ्दो सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा लिनुपर्ने उहाँले बताउनुभयो ।

    जनचेतना अभियानसँगै प्राथमिक स्वास्थ्य सेवामा प्रारम्भिक पहिचान, स्वास्थ्यकर्मीको तालिम, आवश्यक स्थानमा मेमोरी क्लिनिक तथा रेफरल प्रणाली, हेरचाहकर्ताका लागि सहयोग र राष्ट्रियस्तरको स्पष्ट डिमेन्सिया रणनीति आवश्यक रहेको डा बोगटीको भनाइ छ ।