असोज ६, २०८३ मंगलबार

लमजुङ, ६ असोजः क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि १३ दशमलव ३७ प्रतिशत काम भएको छ । 

    दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी विसं २०७८ साउन १९ गते निर्माण सम्झौता भएको थियो । अस्पताल निर्माणको काम विसं २०८१ असारदेखि रोकिएको छ । काम रोकिए पनि पटकपटक थपिँदै आएको छ । 
पछिल्लो पटक गत भदौमा तीन महिनाका लागि म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ । 

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेका अनुसार निर्माण व्यवसायीले काम गर्ने भन्दै पटकपटक म्याद थप्दै गए पनि अपेक्षित रूपमा प्रगति हुन सकेको छैन । 

    अस्पताल निर्माणको काम क्रमशः रोकिँदै आएको उहाँले बताउनुभयो । निर्माण व्यवसायीलाई काम अघि बढाउन पटकपटक ध्यानाकर्षण गराए पनि अपेक्षित प्रगति हुन नसकेको उहाँको भनाइ छ । हालसम्म करिब रु एक करोड ८३ लाख बराबरको काम भएको उहाँले जानकारी दिनुभयो ।  

    गाउँपालिकाका सव इन्जिनियर प्रकाश शेरचनका अनुसार अस्पताल भवनको भुइँतला ढलानको काम भएको छ । त्यसपछि निर्माण रोकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार निर्माण सम्झौताको दुई वर्षसम्म पनि कामले अपेक्षित गति लिन सकेको थिएन । उक्त अवधिमा करिब पाँच–छ प्रतिशत मात्रै काम भएको थियो । 

    सुरुमा जग खन्ने तथा जमिन सम्याउनेलगायतका काम भएको उहाँले बताउनुभयो । पटकपटक म्याद थप्दा पनि काम अघि नबढेपछि निर्माण व्यवसायीमाथि कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । 

    गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले निर्माण व्यवसायीले काममा ढिलाई गर्दा अस्पताल निर्माणमा अपेक्षित प्रगति हुन नसकेको बताउनुभयो । 
पछिल्लो पटक तीन महिनाका लागि म्याद थपिएकाले सो अवधिमा काम अघि बढ्ने अपेक्षा गरिएको उहाँको भनाइ छ । “अब थपिएको समयमा पनि निर्माण प्रक्रिया अगाडि बढेन भने ठेक्का तोड्ने वा कानुनी कारबाही के गर्ने भन्नेबारेमा गाउँपालिकाले आवश्यक कदम चाल्छ”, उहाँले भन्नुभयो । 

    अस्पताल निर्माणका लागि गाउँपालिकाले करिब रु २० करोड लागत अनुमान गरेको थियो । निर्माण सम्झौता भने रु १३ करोड ३० लाखमा भएको हो । 

    सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको अस्पताल विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको थियो । 

    अस्पताल निर्माण सम्पन्न भएपछि क्व्होलासोथार गाउँपालिकाका स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा सहज हुने अपेक्षा गरिएको छ ।